हाँस्नु स्वास्थ्यका लागि लाभदायक’

bimbonline बिम्ब अनलाइन
२०८० असार ३० ०९:५६ बजे

काठमाडौँ, असार ३० गते । हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन पनि सहयोग पुर्याउने योग विज्ञको भनाइ छ ।हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा गर्न सघाउने तथा दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले तौल घटाउन पनि सहयोग पुग्ने हास्य कलाकार शिवशङ्कर रिजालले बताउनुभयो । 

उहाँ दैनिक योग गर्नुका साथै हाँस्ने गर्नुहुन्छ । “म हाँस्ने योग १५ देखि २० मिनेटसम्म गर्ने गरेको छु । म देखावटी नभई मनदेखि नै हाँस्छु । यसले स्वस्थ पनि बनाउँछ”, हास्य कलाकार रिजालले भन्नुभयो । उहाँको दिनचर्या नै योग र व्यायाममार्फत सुरू हुन्छ । 

हाँस्दा मष्तिस्कका कोशिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले ‘मुड’ ठीक गर्न मद्दत गर्छ । मुड ठीक हुनुको अर्थ हो जीवनका सबै कुरा राम्रो हिसाबले चल्नु । मुड ठीक हुँदा मानिसको व्यक्तिगत, सामाजिक, व्यावसायिक जीवनमा सकारात्मक प्रभाव पर्छ । 

हास्य कलाकार किरण केसीले हास्य विधालाई दर्शकले रोजाइको प्राथमिकतामा राखेको बताउनुभयो । “हास्य विधामा काम गर्ने कलाकार अहिले सम्पन्न भएका छन् । देशदेखि विदेशसम्म पुगेर आफ्नो प्रस्तुति दिएका छन् । यो सबै दर्शकको रोजाइका कारण सम्भव भएको हो”, हास्य कलाकार केसीले भन्नुभयो, “हाम्रो कामले एकैछिन भए पनि मुहार उज्यालो बनाउने काम गर्छ । त्यसैले हाम्रो काम शृङ्खलामा होस् या चलचित्रमा दर्शकले रुचाएका छन् ।”

यसरी थाहा हुन्छ हसाईबाट स्वभाव 

खित्का छाडेर हाँस्ने व्यक्ति - जो व्यक्ति दिल खोलेर अर्थात खित्का छाडेर हाँस्छन्, त्यस्ता व्यक्ति निकै उत्साही प्रवृत्तिका हुन्छन् । त्यस्ता व्यक्तिको बौद्धिक क्षमता पनि सामान्य भन्दा बढी हुन्छ । यस्ता व्यक्ति निकै सहनशील पनि हुन्छन् । उनिहरुको मनमा कुनै पनि प्रकारको छलकपट हुँदैन । यतिमात्र होईन यस्ता व्यक्ति परेको बेला जे पनि सहयोग गर्न तयार हुन्छन् ।

जोड–जोडले आवाज निकालेर हाँस्ने व्यक्ति - कोही व्यक्ति हाँस्दा जोड सँग आवाज निकाल्छन् । जो त्यसरी हाँस्छ त्यस्ता व्यक्ति निकै स्वाभिमानी तथा मेहनती हुन्छन् । प्राय यस्ता व्यक्ति जीवनमा सफल पनि हुन्छन् ।

मन्द मुस्कानसहित हाँस्ने व्यक्ति - जुन व्यक्ति मुसुक्क मुस्कुराएर हाँस्छन् उनीहरु निकै बुद्धिमानी र गम्भीर प्रवृत्तिका हुन्छन् । यस्ता व्यक्ति चाँडो रिसाउँदैनन् । यीनिहरु कठिन समयमा धैर्यताका साथ आफ्नो काम सफल गर्छन् ।

रोकिएर हाँस्ने व्यक्ति - केही व्यक्तिको बानी रोकिने र हाँस्ने हुन्छ । समुन्द्रशास्त्र अनुसार, यस्ता व्यक्तिको बौद्धिक क्षमता सामान्य हुन्छ । यस्ता व्यक्ति विवेकको सट्टा भावनाले निर्णय लिन्छन् । तर यसरी हाँस्ने व्यक्तिको बचत गर्ने बानी भने विशेष प्रकारको हुन्छ ।


२०८० असार ३० ०९:५६ बजे

प्रतिक्रिया