आफ्ना वच्चा लाइ चलाख कसरी वनाउने, सुनौला १००० दिनमा के गर्ने

bimbonline बिम्ब अनलाइन
२०८० असार २३ ०९:४४ बजे

काठमाण्डौ।  सुनौला १००० दिन के हो ?गर्भवती भएदेखि बच्चाको दोस्रो जन्मदिनसम्मको १००० दिनको अवधि (९ महिना प्लस २४ महिना वा २७० दिन प्लस ७३० दिन १००० दिन) नै सुनौला १००० दिन हो । जन्मेको दुई वर्षसम्ममा शिशुको मस्तिष्क विकास ८० प्रतिशत भइसक्ने विभिन्न अनुसन्धानहरूले देखाएका छन् । यो उमेरमा विभिन्न सीप र क्षमताहरू, व्यवहारको ढाँचा, संवेग नियन्त्रण तथा प्रस्फुटनका साथै वस्तुहरू अवलोकन गर्ने, पहिचान गर्ने, तर्क गर्ने, सोच्ने, आफ्नो विचार व्यक्त गर्ने आदि विकासात्मक गुणहरू देखा पर्छन् । उनीहरू परनिर्भर अवस्थाबाट आत्मनिर्भर हुने प्रयत्न गर्छन् । यो उमेरमा पाएको अवसरले शिशुको भावी जीवनको लागि महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले यो उमेरलाई सुनौलो भनिएको हो ।

यस अवस्थामा सिकाइका ढोकाहरू अर्थात् पाँच इन्द्रीयहरू (आँखा, कान, नाक, जिब्रो र छाला) को माध्यमबाट उत्प्रेरणा पाएपछि बाल मस्तिष्क सिक्नका लागि सक्रिय हुन्छ । इन्द्रीयहरूले पाएका अनुभव मांसपेशीहरूको समन्वयबाट मस्तिष्कमा पुग्छ र मस्तिष्कले सम्बन्धित स्थानमा सुरक्षित रहन्छ । गर्भदेखि नै शिशुको संज्ञानात्मक विकास सुरु हुन्छ । जसअनुसार स्पर्श जन्मनासाथ, सुनाई गर्भभित्र ५ महिनादेखि, दृष्टि जन्मदेखि नै सुरु हुन्छ । यसैगरी शिशुलाई बोलाउँदा वा जिस्क्याउँदा मस्तिष्कले उत्प्रेरणा पाई शिशुको स्मरणशक्तिको विकास हुन्छ । संवेगहरूको नियन्त्रण हुन्छ । २३ यस्ता विभिन्न अनुभवबाट उत्प्रेरित स्नायुहरू मात्र शिशुको क्षमतामा परिणत भई जीवनभरि जीवित हुन्छन् ।

अवसर नपाउँदा ती स्नायुहरू संरक्षित हुन नसकी वयस्कमा आफैँ मेटिएर वा हराएर जान्छन् । त्यसैले यो अवधिमा बालबालिकाले पाएका अवसरले जीवनको आधार तयार गर्छ र बाँकी सिकाइ यसैमाथि थपिएर रहन्छ । विश्वका विभिन्न अध्ययनहरूकाअनुसार कुपोषण, बालरोगको सङ्क्रमण हुनबाट बचाउने, उपयुक्त समय गर्भावस्थादेखि पहिलो दुई वर्ष नै भएको तथ्य पुष्टि भएको पाइन्छ ।

सुनौला १००० दिनमा अभिभावकको भूमिका

असल क्षमतावान मानवीय स्रोत निर्माण गर्न सुनौला १००० दिनमा शिशु गर्भमा आएदेखिको अवस्था मात्र नभई शिशु जन्माउने बुबाआमाका स्वास्थ्य, पोषण, बच्चा जन्माउने उमेर तथा अन्य तयारीको अवस्थालाई समेत समेटेको हुन्छ । यस सम्बन्धित सुनौला १००० दिन अभियानले निम्न प्रमुख सन्देशहरू समेटेका छन । किशोरी र अभिभावकका प्रमुख विषयहरू

 किशोरीहरूले पोषिलो खाना खाने गर्नुपर्छ । कम्तीमा माध्यामिक तहसम्म सबै किशोरीहरूले शिक्षा पूरा गर्नुपर्छ । महिनावारी र सरसफाइमा ध्यान दिने गर्नुपर्छ । बीस वर्षपछि मात्र विवाह गर्नुपर्छ ।  परिवार नियोजनको उचित साधन र तिनको प्रयोगबारे जानकारी प्राप्त गर्नुपर्छ । सुरक्षित र स्वस्थ्य बच्चा जन्माउने विषयहरूमा विशेष ध्यान दिनुपर्छ ।

गर्भवती महिला र आमाहरूका लागि प्रमुख विषयहरू

पहिलो चरण (गर्भावस्था) गर्भ रहेदेखि ९ महिनासम्मका अवस्थामा सुनौला १००० दिनका आमाहरूले बालबालिकाको सर्वाङ्गीण विकासको लागि सचेत रहनुपर्छ ।बच्चा गर्भमा रहेदेखि बाल उत्प्रेरणासम्बन्धी ज्ञानलाई प्रयोगमा ल्याउनुपर्छ ।मातृ स्वास्थ्यका लागि सिफारिस गरिएका पोषिला खानाहरू खानुपर्छ ।सुरक्षित मातृत्वका लागि तोकिएअनुसारको आठपटक गर्भवती जाँच स्वास्थ्य संस्थामा गई पूरा गर्नुपर्छ ।गर्भवती भएको तेस्रो महिना पूरा भएपछि आइरन चक्की खान सुरु गरी बच्चा जन्मेको ४५ दिनसम्म आइरन चक्की खाई कोर्स पूरा गर्नुपर्छ ।खाना पकाउन तयार गर्नुअघि, खानु वा खुवाउनु र दिसा गरेपछि खेतबारीमा कामगरेपछि मिचिमिची साबुनपानीले हात धुने गर्नुपर्छ ।आफ्नो तथा गर्भमा रहेको शिशुको सुरक्षामा विशेष ध्यान दिनुपर्छ ।कीटनाशक, विषालु औषधीहरू र खतरापूर्ण वस्तुहरूसँग टाढा बस्नुपर्छ ।धूमपान तथा मदिरा सेवन गर्नुहुँदैन । दक्ष प्रसूतिकर्मीबाट प्रसूति केन्द्र वा अस्पताल वा स्वास्थ्य संस्थामा ने प्रसूति गराउने योजना गर्नुपर्छ ।सुत्केरीपछि स्याहारको योजना घरपरिवारले गर्नुपर्छ ।बच्चा जन्मेपछि अपनाउनुपर्ने परिवार नियोजनको उचित साधन र तिनको प्रयोगबारे जानकारी प्राप्त गर्नुपर्छ । शिशु जन्मेदेखि बाल स्वास्थ्य कार्डको प्रयोग गर्नुपर्छ । यो कार्ड शिशुको लागि महत्त्वपूर्ण रेकर्ड हो । जसमा जन्मदेखिको तौल, खोप, स्वास्थ्य परीक्षणको रेकर्ड रहन्छ ।

दोस्रो चरण (बच्चा जन्मेदेखि ६ महिनासम्मको अवधि) 

शिशु जन्मिएको १ घण्टाभित्र नै जति सक्दो चाँडो स्तनपान गराउने र बिगौती दूध पटकपटक खुवाउनुपर्छ । बिगौती दूधमा शिशुको लागि प्राकृतिक रोग प्रतिरोधात्मक क्षमता बढाउने महत्त्वपूर्ण तत्व हुन्छ ।शिशु जन्मिएको २४ घण्टापछि मात्र नुहाइदिनुपर्छ ।जन्मनासाथै दिने खोपहरू तथा स्वास्थ्य केन्द्रको सुझावअनुरूप खोपहरू लगाउनुपर्छ र बाल स्वास्थ्य कार्डमा रेकर्ड राख्नुपर्छ ।६ महिनासम्म शिशुलाई पूर्ण स्तनपान मात्र गराउने गर्नुपर्छ । प्रत्येक महिना तौल लिएर बाल स्वास्थ्य कार्डमा भरेर राख्नुपर्छ ।सङ्क्रमण रोकथाम गर्न शिशुको नाइटो सफा राख्ने र महिला स्वास्थ्य स्वयम् सेविकाबाट उपलब्ध हुने रहेक्साडिन मल्हम नाइटोमा लगाईदिनुपर्छ ।शिशुका जन्मदर्ता सम्बन्धित निकायमा गराउनुपर्छ । जन्म दर्ता गराउनु शिशुको अधिकारको संरक्षण हो ।शिशुको आँखामा आँखा जुधाउने, कुराकानी गर्ने, शिशुको आवश्यकतालाई बुझेर सोअनुसार सहयोग गर्नेजस्ता अभ्यासलाई निरन्तरता दिनुपर्छ ।यो अवस्थामा शिशुको ज्ञानेन्द्रीय सक्रिय हुन्छ । उनीहरूलाई विभिन्न कुरा हने, छुने, सुन्ने, सुघ्ने उपयुक्त अवसर दिएर उत्प्रेरित गर्नुपर्छ ।उनीहरूले निकालेको आवाजको उत्तर दिने, मधुर सङ्गीत बजाउने, सुमसुमाउने र विभिन्न आवाज सुनाउने तथा शिशुले देख्नेगरी रङ्गीन खेलौनाहरू झुण्ड्याउनुपर्छ ।सुत्केरी महिलाहरूले निरन्तर रूपमा पोषिलो खाना खाने तथा प्रसूति पश्चात्‌को स्वास्थ्य सेवा नियमित रूपमा लिने गर्नुपर्छ 

तेस्रो चरण (शिशु ६ देखि १२ महिनासम्मको अवधि)

६ महिना पूरा भएपछि पनि निरन्तर स्तनपान गराई राख्नुपर्छ । स्तनपानका साथै विविध पोषिला खानाको प्रयोग गरी पूरक खाना खुवाउन सुरू गर्नुपर्छ ।शिशुलाई हरेक पटक खुवाउनुअघि साबुनपानीले मिचीमिची हात धुनु पर्छ ।बालबालिकालाई खाना खुवाउँदा मोबाइल चलाउनु हुँदैन । अनुसन्धानअनुसार यसले बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पर्छ । मोबाइलको साटो बालबालिकासँग कुरा गर्दै, खेलाउँदै, रमाइलो वातावरणमा खानाको स्वाद लिन सिकाउँदै खुवाउनुपर्छ । अन्य बेलामा पनि यस उमेरका बालबालिकालाई विभिन्न उत्प्रेरणात्मक क्रियाकलाप गराउनुपर्छ ।

सुनौला १००० दिनको अवधिमा आमा र शिशुले उचित खानपान, स्याहार पाएमा शिशु मृत्यु र अन्य स्वास्थ्य समस्यासमेत घटाउन सकिन्छ । 

बालबालिकाको ८० प्रतिशत मस्तिष्कको विकास यसै अवधिमा हुने भएकाले यो जीवनको महत्त्वपूर्ण अवस्था हो ।यस अवस्थामा सिकाइका ढोकाहरू अर्थात पाँच इन्द्रीयहरूको माध्यमबाट उत्प्रेरणा पाइ सक्रिय हुन्छ । यही अवधिमा विभिन्न अवसरहरू प्रदान गरेर बालबालिकालाई चलाख बनाउन सकिन्छ ।यस अवधिमा आमा र शिशुलाई विभिन्न किसिमका सङ्क्रमण, कुपोषण, हिंसा, दुर्व्यवहारबाट जोगाउनुपर्छ ।

(यो सामग्री युनिसेफको सहयोगमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रकाशित गरेको अभिभावक शिक्षा पुस्तकको सहयोगमा तयार गरिएको हो )


२०८० असार २३ ०९:४४ बजे

प्रतिक्रिया