चारदलिय समाजवादीमोर्चा दलाल सँसदिय व्यवस्थाको सत्तामा पुग्ने भर्याङ- सि.पी. गजुरेल नेता क्रा.क.पा. नेपाल

bimbonline बिम्ब अनलाइन
२०८० असार २१ ०८:०२ बजे

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ कार्यालय सदस्य नेता सिपी गजुरेल गौरवले चार दलीय समाजवादी मोर्चाले भन्ने गरेको समाजवाद ‘प्रतिक्रियावादी समाजवाद’ भएको टिप्पणी गर्नु भएको छ । उत्तर कोरियाली नेता किम इल सुङको २९ औं स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता गजुरेलले यस्तो बताउनु भएको हो ।

नेपाल–कोरिया लेखक÷पत्रकार मञ्चले आयोजना गरेको ‘किम इल सुङ र समाजवादी क्रान्ति’ विषयक विचारगोष्ठीमा प्रमुख वक्ताको रुपमा आफ्नो विचार प्रस्तुत गर्दै आफूहरु र सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु सँधै वैज्ञानिक समाजवादको पक्षधर रहेको स्पष्ट पार्नुभयो । उहाँले समाजवाद भनेर मात्रै हुँदैन, समाजवाद त प्रतिक्रियावादी, सामन्तवादी, पुँजीवाद पनि समाजवाद हुने भन्दै सर्वहारा श्रमजीवि शोषित उत्पीडित वर्गको हित गर्ने समाजवाद भनेको वैज्ञानिक समाजवाद मात्र भएको विचार व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा नयाँ जनवादी व्यवस्थाको नै स्थापना नभएकोले आफूहरु नेपालमा नयाँ जनवादी व्यवस्थाको स्थापना गर्ने र वैज्ञानिक समाजवादी व्यवस्थाका दिशामा अगाडि बढ्ने पनि स्पष्ट पार्नुभयो ।

उहाँले अहिले माओवादी केन्द्र, एकीकृत, जसपा र नेकपाले चारदलीय समाजवादी मोर्चा बनाएको चर्चा गर्दै यो मोर्चालाई यही दलाल संसदीय सत्तामा जाने भर्याङको रुपमा प्रयोग गर्न खोजिएको मात्र हो । यो मोर्चा देशको स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्याको पक्षमा नरहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले किम इल सुङले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको विषयमा पनि चर्चा गर्नुभएको थियो । उहाँले किम इल सुङलाई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माओकै हाराहारीमा राखेर हेर्ने गरेको चर्चा गर्दै उहाँले कोरिया र कोरियाली श्रमिक जनतालाई जापानी र अमेरिकी साम्राज्यवादबाट मुक्त पार्ने राष्ट्रिय स्वाधीनताको लडाइँमा नेता सुङले खेलेको भूमिका सबै उत्पीडित राष्ट्रहरुका लागि अनुकरणीय रहेको पनि बताउनु भयो । उहाँले अहिले नेपालको राष्ट्रिय स्वाधीनताको स्थिति संकटपूर्ण रहेको बताउनु हुँदै राष्ट्रिय स्वाधीनताको संघर्षमा उत्तरकोरियाबाट नेपालले सिक्नुपर्ने कुराहरु धेरै रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा (माले)का महासचिव सिपी मैनाली, नेपालका लागि उत्तरकोरियाका कार्यवहाक राजदूत किम, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्यद्वय प्रा.डा. जगदीशचन्द्र भण्डारी, पूर्णबहादुर सिंह, वामपन्थी नेता माणिक लामा लगायतका नेताहरुले पनि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र राष्ट्रिय स्वाधीनताको आन्दोलनमा किम इल सुङले पुर्याएको योगदानको विषयमा  चर्चा गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका अध्यक्ष अशोक सुवेदीले गर्नुभएको थियो ।


२०८० असार २१ ०८:०२ बजे

प्रतिक्रिया