पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल

bimbonline बिम्ब अनलाइन
२०८० असार १६ ११:३१ बजे
काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल  भइरहेको बताएका छन् ।

पोखरामा आज बिहान माओवादी केन्द्रका उपलब्ध केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पदाधिकारीसँग अन्तक्र्रिया गर्दै उनले माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दासमेत कमजोर हुने भएकाले एकताको पहल गरिएको  बताएका हुन् । उनले भने, “माओवादी कमजोर हुँदा सिङ्गो परिवर्तन कमजोर हुन्छ । हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ । त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो । यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरुरी छ ।”

प्रधानमन्त्री दाहालले जनताले माओवादी नेतृत्वको सरकारमाथि धेरै आशा र भरोसा राखेकाले सबै मिलेर देश निर्माणका पक्षमा लाग्नुपर्नेमा जोड दिए । “हामीभित्र मात्र थपघट गरेर पार्टी पुनः निर्माण हुँदैन । यस पटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ”, उनले भने “यसका लागि नयाँ ढङ्गले सोच्दै छौँ । हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ । देश निर्माणका लागि फेरि नयाँ फड्को जरुरी छ । सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को हान्न खोजिएको छ । यसमा हामी दृढतापूर्वक अघि बढ्नुपर्छ । सरकार यसमा दृढ छ ।”

देशमा उपलब्ध प्राकृतिक साधन स्रोत उपयोग गरेर देशको समुन्नतिका पक्षमा फड्को हान्ने आफ्नो योजना रहेको सुनाए । उनले भने, “यसका लागि के–कसरी काम गर्न सकिन्छ, यतातर्फ पनि सबैले सोचौँ । पार्टीका सबै नेता–कार्यकर्ताले देशको समृद्धिको पक्षमा काम गर्ने सङ्कल्प गरौँ ।”

हालै गठन गरिएको समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्ने उनको भनाइ रहेको छ ।  मोर्चाको बैठक बसेर कार्यक्रम तय गरिने जानकारी दिए ।  सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै अघि बढाइने प्रचण्डले बताए । 
२०८० असार १६ ११:३१ बजे

प्रतिक्रिया