कोशीमा एमाले नेतृत्वको सरकार ढले पनि नयाँ सरकार निमार्णमा कठिनाइ

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो । कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेशसभा सदस्यले मत दिए

bimbonline बिम्ब अनलाइन
२०८० असार १५ १६:०७ बजे

काठमाडौँ । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकारले विश्वासको मत नपाएपछि एमाले सरकार ढलेको छ। विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि सरकार ढलेको हो । 

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो । कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेशसभा सदस्यले मत दिए । उनको विपक्षमा ४३ मत परेको छ । नेपाली काँग्रेसका, माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गरे ।

आजको बैठकमा ८९ सदस्य मात्र उपस्थित थिए । जनता समाजवादी पार्टी(जसपा)की प्रदेशसभा सदस्य निर्मला लिम्बुसँगै प्रतिपक्षी दलका अरू दुई सांसद अनुपस्थित रहे । जसपाले यसअघि नै तटस्थ बस्ने निर्णय गरेको थियो ।

कार्की नेतृत्वको सरकार ढलेकाले अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । २०७९ मंसिरमा भएको प्रदेश सभा चुनावपछि २४ पुसमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

नयाँ सरकार निमार्णमा  कठिनाइ  

अङ्कगणितका कारण काँग्रेस माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीको गठबन्धनलाई नयाँ सरकार गठनका लागि सजिलो छैन । कोशीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले सरकारमा दाबी गरिरहेका छन् ।

सभामुख निर्णयक भएका कारण गठबन्धन दललाई बहुमत जुट्ने आस छ । सभामुखले बराबरी हुँदा मात्रै निर्णायक मत दिन पाउने भएका कारण  गठबन्धन दललाई  विश्वासको मत लिने बैठकमा विपक्षी दलका एक जना मात्रै सांसद अनुपस्थित भए भने के गर्ने भन्ने चिन्ता छ ।

प्रतिपक्षी दलले धारा १६८(२) अनुसार नयाँ सरकार गठन हुनुपर्ने बताइरहेका छन् ।

नेकपा एमाले भने धारा १६८(३) अनुसार ठुलो दलको नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान छ । एमाले कोशीको सबैभन्दा ठुलो दल हो । बहुमत जुटाउन नसकेको एमाले सहमतीय सरकारको पक्षमा छ । ‘अहिले पनि म सर्वपक्षीय सरकार गठनको पक्षमा छु,’ कार्कीले विश्वासको मत माग्दा उठेका प्रश्नको जवाफ दिने क्रममा भनेका छन्, ‘कुनै पनि गठबन्धन एकले अर्कालाई बाइपास गरेर, त्यो पनि सबभन्दा ठुलो दललाई बाइपास गरेर चल्ने र टिक्ने वाला छैन ।’

२०८० असार १५ १६:०७ बजे

प्रतिक्रिया