टेष्ट राष्ट्र वेष्ट इण्डिजसँग नेपालको फराकिलो हार

दुई पटकको विश्वकप विजेता टेष्ट राष्ट्र वेष्ट इण्डिजसँग नेपाल १०१ रनले पराजित भएकाे हाे ।

bimbonline बिम्ब अनलाइन
२०८० असार ७ २०:५५ बजे

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेष्ट इण्डिजसँग नेपालले फराकिलो हार व्यहोरेको छ । दुई पटकको विश्वकप विजेता टेष्ट राष्ट्र वेष्ट इण्डिजसँग नेपाल १०१ रनले पराजित भयो ।

जिम्बाव्वेको हरारेमा जितका लागि ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २३८ रनमा अल आउट भयो । २८.१ ओभरमा १२९ रन बनाउँदा ६ विकेट गुमाएको नेपालको स्कोर आरिफ शेख र गुल्सन झाले केही उकासेका थिए । उनीहरुले सातौँ विकेटका लागि ६८ रनको साझेदारी गरे । गुल्सन ४२ रन बनाएर आउट भए । आरिफ ६३ रन बनाउँदै आउट भए ।

ओपनर कुशल भुर्तेल ५ रनमा र तेस्रो क्रममा आएका भीम सार्की २ रनमा आउट भएपछि अर्का ओपनर ब्याटर आसिफ शेख र कप्तान रोहित पौडेलले नेपाली इनिङस केही सम्हालिन खोजेका थिए । तर कुशल ३६ बल खेल्दै ३ चौका सहित २८ रनमा आउट भए । कप्तान रोहित पौडेलले ४३ बलमा ३ चौका सहित ३० रन जोडे ।

सातौँ ब्याटर दिपेन्द्र सिंह ऐरी क्रिजमा आक्रमक देखिए । उनले २४.६ ओभरमा एकेल होसिनको बलमा लामो छक्का प्रहार गर्दै मिडिया बक्सको सिसा फुटाएका थिए । तर उनी पनि २३ रनमा आउट भए ।

करण केसीले १ छक्का र ४ चौकासहित नट आउट २८ रन बनाए पनि हारको अन्तर १०० भन्दा कम बनाउन सकेनन् । अन्तिम नम्बरमा ब्याटिङमा आएका ललित पहिलो बलमै डक आउट भए ।

सन्दीप लामिछानेले १ तथा कुशल मल्लले २ रन बनाए । त्यसअघि, वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रनको योगफल बनाउँदा दुई ब्याटरले शतकीय पारी खेले ।

नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेको थियो । करण केसीको बलमा कुशल भुर्तेलले मिडविकेट क्षेत्रमा शानदार क्याच आउट गर्नुअघि मायर्सले १ रनमात्र बनाउन सके ।

पाँचौँ ओभरमा वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चार्ल्सलाई गुल्सन झाले विकेटकिपर आसिफ शेखबाट कट बिहाइन्ड आउट गरे । गुल्सनको स्पेलको पहिलो बलमै आउट भएका चार्ल्सले खाता खोल्नै सकेनन् ।

१५.३ ओभरमा तेस्रो विकेटका रुपमा ब्रेन्डन किंग आउट भएका थिए । ३२ रन बनाएर खेलिरहेका उनलाई सन्दीप लामिछानेले बोल्ड गरे ।

४३.६ ओभरमा दीपेन्द्रसिंह ऐरीले कट एण्ड बोल्ड गर्नुअघि दुईपल्ट जीवनदान पाएका पुरने ११५ रन बनाए । उनले ९४ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।

४७.१ ओभरमा ललित राजवंशीले वेष्ट इण्डिजको पाँचौं विकेटका रुपमा रोभमन पावेललाई गुल्सन झाबाट क्याच आउट गराए । पावेलले १४ बलमा ३ चौका र १ छक्कासहित २९ रन बनाए ।

४९.२ ओभरमा ललितले वेष्ट इण्डिजका कप्तान होपलाई १३२ रनमा भीम सार्कीबाट क्याचआउट गराए । होपले १२९ बलमा १० चौका र ३ छक्का प्रहार गरे ।

इनिङ्सको अन्तिम बलमा ललितले कीमो पाउललाई १ रनमा बोल्ड गरे । जेसन होल्डर १६ रनमा अविजित रहे ।

बलिङमा ललितले ३ तथा करण, गुल्सन, सन्दीप र दीपेन्द्रले एक–एक विकेट लिए । ललितले १० ओभरमा ५२ रन खर्चिए । सन्दीपले १० ओभरमा १ मेडन राख्दै ५० रन खर्चिए ।

प्रतियोगिताको समूह ए मा रहेको नेपालले यसअघि नेपालले पहिलो खेल घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले गुमाएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।

आउने अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने आशा जीवित राख्न नेपालले यो समूहमा शीर्ष तीनभित्र रहेर सुपर सिक्समा पुग्नुपर्छ ।

२०८० असार ७ २०:५५ बजे

प्रतिक्रिया