२ पटकको विश्वविजेता वेस्टइन्डिजको सामना गर्दै नेपाल, कसले मार्ला बाजी ?

bimbonline बिम्ब अनलाइन
२०८० असार ७ १०:४७ बजे
काठमाडौँ । जारी आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज (बिहीबार) वेस्ट इन्डिजसँग खेल्ने भएको छ ।  यी दुई टोली बीचको खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे जिम्बावेको हरारे स्पोर्टस् क्लबको खेल मैदानमा सुरु हुनेछ।

यसअघिका २ खेलमध्ये एउटामा जित र अर्कोमा हार बेहोरेको नेपाल आज  दोस्रो जितको खोजीमा हुने छ । पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित भएको नेपालले दोस्रो खेलमा भने अमेरिकालाई पराजित गरेको थियो। वेस्टइन्डिज २ पटकको एक दिवसीय विश्वकप विजेता हो। नेपालले कुनै पनि विश्वकप विजेतासँग पहिलोपटक खेल्ने अवसर पाएको हो।

यस अवस्थाले पनि बिहीबारको खेल नेपालका लागि ऐतिहासिक हुनेछ। उता बलियो टोली वेस्टइन्डिज नेपाललाई पराजित गरेर सुपर सिक्सको सम्भावनालाई बलियो बनाउन चाहन्छ। वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो। ओडीआई वरीयतामा वेस्टइन्डिज १०औं र नेपाल १४औं स्थानमा छ । आजको खेलमा नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन्।

वेस्टइन्डिजको कमान शाई होपले सम्हाल्नेछन्। समूह चरणको अन्तिम खेलअन्तर्गत नेपालले नेदरल्याण्डस्‌सँग २४ जुन अर्थात् असार ९ गते खेल्नेछ। प्रतियोगितामा सहभागी १० टोलीमध्ये शीर्ष २ टोली एक दिवसीय विश्वकपका लागि छनोट हुनेछन्।
२०८० असार ७ १०:४७ बजे

प्रतिक्रिया