प्रधानमन्त्रीलाई ‘निलम्बन गर्न’ माग गरिएको मुद्दा सर्वोच्चमा दर्ता

सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकु भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका हुन्

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २८ १४:२३ बजे

काठमाडौँ । माओवादी सशस्त्र द्वन्द्वकालमा बालबालिकाहरूलाई लडाकुको रूपमा प्रयोग गरेको आरोपमा पूर्व ‘बाल सैनिक’हरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन्।

सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकु भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका हुन् ।

यसअघि  विष्टको रिट सर्वोच्च प्रशासनले सङ्क्रमणकालीन न्याय अनुरूप निरूपण हुने भन्दै रिट दरपिठ गरिदिएको थियो । दरपिठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको छ । उक्त रिटमाथि ३० जेठमा सुनुवाइको मिति तोकिएको छ ।

बहिर्गमन जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन बिष्टसहित नौ जनाले दर्ता गरेको रिटमा प्रचण्ड र भट्टराईमाथि अनुसन्धान गर्न प्रचलित कानुन अनुसार कारबाही गर्न माग गरिएको छ। उनीहरूले प्रचण्डलाई प्रधानमन्त्रीबाट निलम्बन गर्न समेत माग गरेका छन्।

२०८० ज्येष्ठ २८ १४:२३ बजे

प्रतिक्रिया