कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न ?

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २६ ०९:१८ बजे

काठमाण्डौ। प्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उनले समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आशन र बोलिरहेको सदस्यको बीचबाट हिँड्नसमेत नहुनेजस्ता कुरा उल्लेख छ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले लामो बहस र छलफलपछि सर्वसम्मतिमा पारित गरेको उक्त नियमावलीमा सदनलाई मर्यादित र सांसदलाई अनुशासित तुल्याउने हेतुले त्यस्ता धेरै प्रावधान समेटिएका हुन् । सत्तापक्ष र विपक्ष सदस्यका केही सदस्यबाट लोकप्रिय हुने होडबाजी र प्रतिशोधपूर्ण अभिव्यक्तिले जनताको सार्वभौमसत्ता सम्पन्न संसद्मा पछिल्ला समय भएका अभ्यासले संसदीय मर्यादा गुमाएको भनी निकै आलोचना भएको छ ।

नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले संसद् कसरी सञ्चालन हुनुपर्छ भनी संविधान, नियम र स्थापित अभ्याससहित नियमावलीमा सविस्तार स्पष्ट व्यवस्था गरिएको बताए । उनले भने,सांसद कहाँ बस्नुपर्छ, कसरी बस्नुपर्छ, उठ्दा, हिँड्दा के कुराको ख्याल गर्नुपर्छ, कुन पोशाक लगाउने भन्नेजस्ता विषय पनि त्यहाँ समेटिएका छन् ।संविधानसभाका अध्यक्ष नेम्वाङले सदनमा अनावश्यक घोचपेच नगरी शिष्ट बोल्न, आरोप–प्रत्यारोप तथा गालीगलौज र अमर्यादित रूपमा प्रस्तुत नहुन तथा संसद्को सम्मानका लागि नियमावलीमा यस्ता प्रावधान राखिएका बताए ।

सदनमा सदस्यले बोलेका केही विषय रेकर्डबाट हटाइयोस् भन्ने कुराले चर्चा र निरन्तरता पाइरहेको विषयमा उनी भन्छन्, प्रतिशोधमा नआई नेताहरू जहिले पनि शान्त, भद्र र शिष्ट हुनुपर्छ । बाहिरका घटना र विषय जोडेर प्रस्तुत हुनुहुन्न । अहिले भएका कमी–कमजोरीलाई सच्याउँदै लगिनुपर्छ ।

सङ्घीय संसद्को दुवै सदनमा पूर्ण वाक स्वतन्त्रता रहने र सदनमा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर अदालतमा समेत कुनै कारबाही प्रश्न उठाउन नपाइने स्पष्ट संवैधानिक व्यवस्था छ ।

संविधानसभाका सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सदनको मर्यादा कायम राख्न र सदनलाई सुव्यवस्थितरूपमा अघि बढाउन सभामुखदेखि सत्ताधारी, विपक्षी दल र हरेक सांसदलाई नियमावली पालनामा विशेष ध्यान पुर्‍याउन आग्रह गरे ।

उनी भन्छन सँसदमा कडा बोल्ने सन्दर्भमा अहिलेका सांसदभन्दा म कम थिइनँ, अहिले प्रतिपक्ष, सत्तापक्ष, सभामुख, नयाँ दल, पुराना दल सबैतर्फबाट कमी–कमजोरी र बिग्रिएको अवस्था छ ।

संविधान र नियमावली बनाए पनि अहिले त्यसको पालना नभएको उल्लेख गर्दै राष्ट्रियसभाका पूर्वसदस्य बिडारीले दुवै सदनका नियमावलीमा के गर्न हुने वा के गर्न नहुने भन्नेबारे प्रष्ट उल्लेख रहेको बताए ।

सदनको गरिमा र प्रभावकारिता बढाउने कर्तव्य सरकार, सम्पूर्ण रानीतिक दल र सदस्यहरूको भएको उल्लेख गर्दै पूर्वमहासचिव भट्टराईले नियमापत्तिको आडमा राजनीतिक अभिष्ट पूरा गर्न अनावश्यक विषय प्रवेश गराएर सदनलाई अवरोध गर्ने अभ्यास नगर्न सुझाव दिए । 

नियम र प्रक्रिया तोडमोड गरिए सदन चल्न नसक्ने भएकाले त्यसमा हेक्का राख्न सबै सांसदलाई सुझाव दिँदै उनले सदन भनेको कुनै राजनीतिक दलको आमसभा नभई विधि, प्रक्रिया, अनुशासन, आचार संहिता र मर्यादा कामय गर्दै अघि बढ्नुपर्ने थलो भएकाले त्यसको गरिमा जोगाउने सिलसिलामा सबैको सहकार्य र भूमिकाको खाँचो औँल्याए ।


२०८० ज्येष्ठ २६ ०९:१८ बजे

प्रतिक्रिया