प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १७ १३:२९ बजे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोलीले आज दिउँसो भारत प्रस्थान गरेका हो ।

प्रधानमन्त्री प्रचण्ड सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अपराह्न नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । प्रचण्ड स्थानीय समयअनुसार २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । प्रधानमन्त्री प्रचण्डको उच्चस्तरीय भेटवार्ता भने बिहीबारदेखि मात्रै सुरु हुनेछ । 

सो दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता हुने तय भएको छ । प्रधानमन्त्रीलाई हैदरावाद हाउसमा विशेष समारोहका बीच प्रधानमन्त्री मोदीले स्वागत गर्ने कार्यक्रम रहेको छ । यस्तै उनले भारतीय बुद्धिजीवी र दलका नेतासँग पनि भेटवार्ता गर्नेछन् । त्यसअघि बुधवार भने प्रधानमन्त्री नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । 

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गङ्गा दाहाल लगायत छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

२०८० ज्येष्ठ १७ १३:२९ बजे

प्रतिक्रिया