उपनिर्वाचनमा रवि लामिछाने उम्मेदवार हुन अयोग्य रहेको भन्ने रिट अदालत वाट दर्ताको आदेश

सर्वोच्चको आदेशमा भनिएको छ, “निवेदनमा उठाएको विषयवस्तुको प्रकृति हेर्दा इजलासबाटै व्याख्या भई निरुपण हुनुपर्ने संवैधानिक र कानूनी प्रश्न निहित रहेको देखिंदा यस अदालतको रजिस्ट्रारबाट मिति २०८०।०१।२८ मा भएको दरपीठ आदेश बदर गरिदिएको छ।

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १० १४:५६ बजे

काठमाण्डौ।      सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रिट दर्ता गर्न आदेश दिएको हो। यो आदेशसँगै लामिछानेको योग्यता सम्बन्धी रिट सर्वोच्चमा दर्ता हुने भएको छ।

गत वैशाख १० गते भएको उपनिर्वाचनमा उम्मेदवार बन्न लामिछाने अयोग्य रहेको भन्दै युवराज पौडेल (सफल)ले गत वैशाख २५ गते सर्वोच्चमा रिट दिएका थिए। उनको रिटलाई सर्वोच्च अदालतका रजिस्ट्रारले वैशाख २८ मा दरपीठ गरेका थिए।

सर्वोच्च प्रशासनको रिट दर्ता नगर्ने निर्णय विरुद्ध पौडेलले इजलासमा निवेदन दिएका थिए। त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको इजलासले रिट दर्ता गर्न आदेश दिएको हो।सर्वोच्चको आदेशमा भनिएको छ, “निवेदनमा उठाएको विषयवस्तुको प्रकृति हेर्दा इजलासबाटै व्याख्या भई निरुपण हुनुपर्ने संवैधानिक र कानूनी प्रश्न निहित रहेको देखिंदा यस अदालतको रजिस्ट्रारबाट मिति २०८०।०१।२८ मा भएको दरपीठ आदेश बदर गरिदिएको छ।”

यससँगै सर्वोच्चले रिट दर्ता गर्न पनि भनेको छ। आदेशमा भनिएको छ, “कानून बमोजिमको अन्य रित पुगेको भए पेश हुन आएको निवेदन दर्ता गरी नियमानुसार गर्नू।”

गत वैशाख १० मा भएको उपनिर्वाचनमा चितवन -२ मा उम्मेदवार बनेका लामिछाने प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भइसकेका छन्। यसअघि पनि लामिछानेको नागरिकतालाई लिएर पौडेलले नै सर्वोच्चमा रिट दायर गरेका थिए।


२०८० ज्येष्ठ १० १४:५६ बजे

प्रतिक्रिया