नक्कली भूटानी शरणार्थी प्रकरण आर्थिक अपराध मात्र होइन, देशद्रोहको अपराध हो- सि.पि. गजुरेल

भ्रष्टाचारको मूल जरो दलाल संसदीय व्यवस्था हो - सन्त वहादुर नेपाली । यो काण्ड भित्रभित्र मिलाउने प्रयत्न भइरहेको छ- धर्मेन्द्र वास्तोला

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ८ ०८:४७ बजे

काठमाडौँ,  । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले  हिजो नक्कली भूटानी शरणार्थी प्रकरण, महङ्गी, भ्रष्टाचार, बेथिति लगायत जनसरोकारका जल्दाबल्दा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तरक्रियामा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य सीपी गजुरेलले भने “जनताले विकल्प खोजेका छन् । हामीले संघर्षको कार्यक्रम बनाएका छौं । जनता आक्रोशित छन् । जनताको आन्दोलनको नेतृत्व हामीले गर्दछौं । नक्कली भूटानी शरणाथी प्रकारण आर्थिक अपराध मात्र होइन, देशद्रोहको अपराध हो । अपराधीहरु कारवाहीमा पर्नै पर्दछ ।”

नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले भने, “नेपाल पहिलेदेखि नै आर्थिक भ्रष्टाचारको लागि बदनाम हुँदै आएको थियो । अहिलेको भ्रष्टाचार काण्डले नेपालीहरुको शिर निहुरिएकोछ । नेपाल भ्रष्टाचार गर्नेहरुको मुलुकको रुपमा चिनिएको छ । भ्रष्टाचारको मूल जरो दलाल संसदीय व्यवस्था हो। यसलाई अन्त गरेर नै भ्रष्टाचारलाई निर्मुल गर्न सकिने छ । त्यसको लागि जनताको आन्दोलन आवश्यक छ ।”

योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्र बहादुर क्षेत्रीले भने “ओलीको नेतृत्वको सरकारको पालामा भुटानी शरणार्थीलाई तेस्रो देश पठाउने समिति बनेको थियो । धेरै शरणार्थीहरू गइपनिसके त्यसमध्ये नक्कली शरणार्थीहरु पनि गइसके । जान नपाएकाहरुले पैसा फिर्ता नपाए पछि यो काण्ड उजागर भएको हो । पूर्व प्रधानमन्त्री र गृहमन्त्री पनि अछुतो हुनुहुन्न भन्ने कुरा आएकोछ । यो काण्ड निष्कर्षमा नपुग्दासम्म संघर्ष गरिरहनु पर्दछ ।”

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र वास्तोलाले भने “लामो समयसम्म यो काण्ड गुपचुप रह्यो । अरु काण्ड जस्तै यसलाई पनि भित्रभित्र मिलाउने प्रयत्न भयो । तर आपसी अन्तरविरोधका कारणले घटनाहरू बाहिर आएका छन् । हामीले सरकारले अपराधीहरुलाई कार्वाही गर्ने छ भन्ने आशा गर्दछौं । अहिलेको घटनाक्रमलाई हेर्दा अपराधीहरुलाई कारावही हुन्छ भन्ने कुरा शंकाको घेरामा छ । अपराधीहरूलाई उन्मुक्ति दिने चलखेल भईरहेको कुरा बाहिर आइरहेको छ। भ्रष्टाचारीलाई छाडिदिने खतरा पनि छ । त्यसो भयो भने परिणाम भयावह हुने छ ।”

अन्तरक्रिया कार्यक्रमको सञ्चालन शरद रसाइलीले गरेका थिए भने अध्यक्षता चन्द्रहरी सुवेदी  (अटल) ले गरेका थिए ।


२०८० ज्येष्ठ ८ ०८:४७ बजे

प्रतिक्रिया