७० करोड बोकेर एमालेबाट निर्वाचित ढोरपाटनका मेयर देबकुमार नेपाली फरार

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ७ २१:५४ बजे
देव कुमार नेपाली

वाग्लुङ।    वाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देबकुमार नेपाली अर्बौँ रकम हिनामिना गरेर सम्पर्कविहीन भएका छन्।बाग्लुङको हरिशंकर रोडमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका उनी शुक्रबार साँझदेखि सम्पर्कविहीन भएका हुन्। बाग्लुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले देबकुमार नेपाली सम्पर्कविहीन भएको भन्दै निवेदन परेको बताइन्।नेपालीले आफू अध्यक्ष रहेको इमेज बचत तथा ऋृण सहकारीका १५ सय बढी शेयर सदस्यको करिब पाँच अर्ब रकम दुरुपयोग गरेको आरोप छ।नेपालीले शेयर सदस्यले सहकारीमा जम्मा गरेको रकमबाट श्रीमती तथा नातेदारको नाममा बाग्लुङ, पोखरा र काठमाडौँलगायत ठाउँमा घर जग्गा किनेको आरोप शेयर सदस्यको छ भने, थप अन्य बैंकबाट पनि सहकारीको नाममा कर्जा लिइएका थिए

नेकपा (एमाले)बाट ढोरपाटनको मेयरमा दुई पटक निर्वाचित भएका उनी सो क्षेत्रका सक्रिय नेता मानिन्थे। तर, आफ्नो लोकप्रियता र शक्तिको आडमा रकम चलखेल गर्ने बानी परेका उनी पछिल्लो समय मानसिक समस्यामा परेको र उपचारको लागि विदेश जाने बताउँदै आएका थिए।प्रजिअ श्रेष्ठकाअनुसार नेपालीले ४ दिनअघि इलाका प्रहरी कार्यालय बुर्तिवाङमा आर्थिक समस्या भएको कारणले निरन्तर रुपमा मानसिक टर्चर आएको भन्दै पत्र बुझाएका थिए। त्यसदिनयता उनी सम्पर्कमा छैनन्।त्यसअघि उनले गत वैशाख ९ गते सूचना टाँसेर सहकारी बन्द भएको जानकारी गराएका थिए। त्यसपछि उनलाई शेयर सदस्य र बचतकर्ताहरुले कार्यालयमा नै आएर हैरान पार्न थालेका थिए

सम्पर्कविहीन हुनुअघि उनले नगरपालिकाका उपप्रमुख धनबहादुर कायतलाई शुक्रबार कार्यवाहक नगर प्रमुख दिएका थिए। ‘म नआउन्जेल कार्यवहाक चलाउनुस् भनेर पत्र दिनुभएको थियो। उहाँ अहिले कहाँ हुनुहुन्छ थाहा छैन, प्रहरीले खोजिरहेको छ,’ कायतले भने ।

यता, देबकुमारका छोरा सन्तोष नेपाली पनि फरार छन्। पोखराको थापा मोटर्स प्रा.लि.ले केही महिनाअघि डेढ करोडको ‘चेक बाउन्स’ गरिदिएपछि उनी पनि फरार भएका छन्।उजुरीपछि देबकुमारलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबि)ले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हल्ला फैलिए पनि पुष्टि हुन सकेको छैन।स्थानीयले भने नेपाली योजना अनुरुप पैसा लिएर भारततर्फ लागेको आशंका गरेका छन्


२०८० ज्येष्ठ ७ २१:५४ बजे

प्रतिक्रिया