वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीले जहाँ उठाउँछ त्यहीँ उठ्ने

वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीले जहाँ उठाउँछ त्यहीँ उठ्ने

bimbonline बिम्ब अनलाइन
२०७९ असार ३० १२:५८ बजे
रामचन्द्र पौडेल

काठमाडौं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको निर्देशनको आधारमा आगामी निर्वाचनमा  आफुले  उम्मेदवारी दिने  बताउनुभएको छ । दमौलीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा  उहाँले  आफ्नो इच्छाभन्दा पनि पार्टीले कता आवश्यकता सोचेर निर्देशन दिन्छ त्यही ठाउँमा आफ्नो उम्मेदवारी दिने बताउनुभएको छ । 

उहाँले  भन्नुभयो , ‘म यो पक्ष त्यो पक्ष भन्दापनि नेपाली कांग्रेस पार्टीको पक्षमा छु । पार्टीले मेरो मूल्यांकन कसरी गर्छ, मेरो आवश्यकतालाई कसरी लिन्छ त्यसपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्नेछु ।’

नेपाली कांग्रेस लोकतन्त्रिक पार्टी भएकाले सबैको मतको कदर हुनुपर्ने उहाँको भनाई रहेको छ ।  पौडेलले भने, ‘पार्टीभित्र कसैलाई पनि अन्याय हुनुहुँदैन । निष्पक्षता र मूल्यांकनको आधारमा पार्टीभित्र न्याय हुनुपर्छ ।’

नेता पौडेलले मुलुकको स्थिरताको लागि गठबन्धन गरेको बताउँदै मुलुकलाई स्थिरता कायम गरी विकासको बाटोमा अगाडि बढाउन गठबन्धनको लक्ष्य रहेको समेत प्रष्ट  पार्नुभएको छ ।  । उहाँले भन्नुभयो, ‘केपी ओलीको नेतृत्वको सरकाले गरेको गल्तीलाई सच्याउन देउवा सरकार आएको हो त्यसैले वर्तमान सरकालाई विगतको गल्ती दोहोर्‍याउन कुनै छूट छैन ।’

यस्तै कांग्रेस र माओवादी केन्द्र दुवै संविधान बचाउने पक्षमा रहेकाले दुवैको ध्रुव एउटै रहेको उनले चर्चा गरे । उहाँले भने ,  ‘राजनीति गर्न दुई पार्टी हुन् तर मुलुकलाई स्थायीत्व र सुशासनको जग बसाउन दुवै पार्टी एक भएर लागेका छन् ।’

पौडेल यसअघि तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए । उनलाई एमाले उम्मेदवार किसानकुमार श्रेष्ठले ६ हजारभन्दा बढी मतले हराएका थिए ।

२०७९ असार ३० १२:५८ बजे

प्रतिक्रिया