मिटरब्याज समस्या सम्बन्धी अध्यादेश जारी

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २० १६:०७ बजे

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका छन् । बुधवार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन् । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि उक्त अध्यादेश ल्याएको हो ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने निर्णय गरेको थियो । अध्यादेशमार्फत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता संशोधन गर्न लागेको छ ।

मिटरब्याज पीडितको एक समूहसँग गत चैत १७ गते गरेको सहमति अनुसार सरकारले कानुन संशोधन गर्न अध्यादेश ल्याएको हो । 

सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रूपमा परिभाषित गरी कानुनी रूपमा दण्डनीय बनाउन उक्त अध्यादेश ल्याएको हो । मङ्गलवार मन्त्रिपरिषद् बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्नुपर्ने भएकाले अध्यादेश  ल्याउन लागिएको बताएकी थिइन् । ।

२०८० वैशाख २० १६:०७ बजे

प्रतिक्रिया