प्रिमियर कपको उपाधि नेपाललाई, एसिया कपमा छनोट

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १९ १२:५६ बजे

काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसिया कपका लागि छनोट भएको छ। मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिया कपका लागि छनोट भएको हो। जितसँगै अब नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ।

यूएईले दिएको ११८ रनको झिनो लक्ष्य नेपालले ३० ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो। नेपाललाई जितसम्म पुर्‍याउने क्रममा शानदार साझेदारी गर्दै गुल्सन झाले ६७ र भीम सार्कीले ३६ रन जोडे। यसअघि आसिफ शेख ८ तथा कप्तान रोहित पौडेल र ओपनर कुशल भुर्तेल १र१ रनमा आउट भएका थिए।

वर्षाले प्रभावित भएपछि दुई दिन लगाएर खेल भएको हो। अघिल्लो दिन यूएईले ९ विकेट गुमाएर १०६ रन जोड्दा वर्षाले खेल अवरुद्ध भएको थियो। आज त्यहीँबाट खेल सुरू भएको थियो। जितसँगै नेपालले एसीसी प्रिमियर कपको उपाधि समेत हात पारेको छ। एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने गरी तय भएको छ। तर, भारतीय टीमले पाकिस्तान जान अस्वीकार गर्दा प्रतियोगिता कहाँ हुने भन्ने निश्चित भएको छैन।

एसिया कपमा पाकिस्तान, भारत र नेपाल समूह ‘ए’ मा हुनेछन्। समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

२०८० वैशाख १९ १२:५६ बजे

प्रतिक्रिया