एसिसी प्रिमियर कपको उपाधिका लागि नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १८ ०७:१९ बजे

काठमाडौं । एसिसी प्रिमियर कपको उपाधिका लागि नेपालले आज सोमबार युएईसँग प्रतिस्पर्धा गर्दैछ। घरेलु मैदानमा युएईलाई पराजित गरे नेपाल एसिया कपमा छनोट हुनेछ। उपाधिका लागि मात्रै होइन, नेपालले एसिया कपमा भारत, पाकिस्तानजस्ता टेष्ट मान्यता राष्ट्रसँग खेल्ने बाटो पनि खुल्नेछ।

भारत, पाकिस्तानजस्ता टेष्ट मान्यता राष्ट्रसँग खेल्ने नेपालको वर्षौंदेखिको चाहना छ। त्यही चाहना पूरा गर्ने रणनीतिका साथ युएईविरुद्ध मैदान उत्रिनेछ। भारत र पाकिस्तानसँग खेल्ने धोको पूरा गर्न नेपाल केवल एक कदममात्रै पछि छ । आज फाइनलमा युएईलाई पराजित गरे नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने वर्षौंअघि देखिको सपना पूरा गर्नेछ ।

पानी परिरहे खेल के हुन्छ ?

मौसमविद्हरूका अनुसार नेपालमा मंगलबारसम्म वर्षा हुने सम्भावना छ । वर्षाकै कारण सेमिफाइनलमा कुवेतविरुद्धको खेल रद्द भएसँगै नेपाल फाइनल पुगेको थियो। वर्षाकै कारण फाइनलमा सोमबार र मंगलबार खेल वा सुपर ओभर पनि हुन नसके वरीयताका आधारमा नेपाल एसिया कपमा पुग्नेछ। ओडीआई वरीयतामा नेपाल १४औँ स्थानमा छ भने युएई १९औँ स्थानमा छ।

यसअघि सेमिफाइनलका खेल र तेस्रो स्थानका लागि भएको ओमान र कुवेतबीचको खेल वर्षाकै कारण प्रभावित बन्यो । तर, फाइनलका लागि भने एसिसीले ‘रिजर्भ डे’ राखेको छ। सोमबार (आज) वर्षाका कारण खेल हुन नसके मंगलबार (भोलि) हुनेछ। तर, मंगलबार पनि समयमै खेल हुन नसके अपराह्न ४ः४० बजेमा सुपर ओभर हुनेछ। यो सुपर ओभरबाट पनि खेलको छिनोफानो नभए एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताका आधारमा विजेताको टुंगो लाग्नेछ।

वर्षाका कारण सुपर ओभर पनि हुन नसके विजेता घोषणा ओडीआईको वरीयताका आधारमा गरिनेछ। खेल वर्षाका कारण हुन नसके ओडीआई वरीयताका आधारमा विजेताको टुंगो लगाइने नेपाल क्रिकेट संघ ९क्यान० का क्रिकेट म्यानेजर विनोद दासले बताए।

नेपाल विश्व वरीयतामा १४औँ स्थानमा छ भने यूएई १९औँ स्थानमा छ । यसकारण सुपर ओभरबाट पनि खेलको टुंगो नलागे ओडीआई वरीयताका आधारमा नेपाल विजेता हुनेछ । र, पाकिस्तानले यसै वर्षको सेप्टेम्बर २–१७ सम्म आयोजना गर्ने एसिया कपका लागि नेपाल छनोट हुनेछ । एसिया कपका लागि समूह विभाजन भइसकेको छ। त्यसैले एसिसी प्रिमियर कपको विजेता भारत र पाकिस्तान रहेकै समूहमा रहनेछ ।

‘हेड टु हेड’मा नेपाल अगाडि

नेपाल र युएईबीचको खेल इतिहासलाई हेर्ने हो भने खेलमा नेपाल हाबी छ। पछिल्ला पाँच खेललाई हेर्ने हो भने चार खेलमा नेपालले जित हात पारेको छ भने एक खेलमा मात्रै युएईसँग पराजित भएको छ । त्यसैले पनि घरेलु मैदानमा नेपाली टोली उच्च मनोबलमा हुनेछ।

पछिल्ला पाँचमध्ये तीन खेल नेपालले त्रिवि क्रिकेट मैदानमा युएईविरुद्ध जित निकालेको छ । युएईको मैदानमा नेपालले एक खेल जित्दा एक खेलमा भने पराजय भोगेको छ ।

२०८० वैशाख १८ ०७:१९ बजे

प्रतिक्रिया