काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको हित र विकासका कुनै काम गर्न नसकेको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले विकासका धेरै कार्यक्रम ल्याए पनि वर्तमान सरकारले निरन्तरता दिन नसकेको बताएका छन् ।
यसअघिको एमाले सरकारले विभिन्न राजमार्ग, देशैभर ३ सय ९६ अस्पताल लगाएका विभिन्न आयोजनाको शिलान्यास गरे स्मरण गराउँदै वर्तमान सरकारले पैसा अभाव भएको भन्दै उक्त आयोजनालाई निरन्तरता दिन नचाहेको आरोप लगाएका छन् ।
आफू प्रधानमन्त्री हुँदा लिपुलेक लिम्पियाधुरा, कालापानी फिर्ताका लागि पत्राचार नै गरे पनि अहिलेको सरकारले आफ्नो भूभागलाई समस्याका रूपमा चित्रण गरेको उनको भनाइ छ । ओलीले मुलुकको विकासका लागि स्वच्छ सरकार बन्नुपर्ने र त्यागी नेता हुनुपर्ने जिकिर गरे। आफ्नो पार्टीले सदैव युवाहरूलाई अवसर दिएको भन्दै ओलीले युवाहरूले नै देशलाई बनाउनुपर्ने अवस्था आएको धारणा राखे। उनले आफू सदैव देशका लागि समर्पित भएको र बाचुन्जेल देशको सेवा गर्ने बताए।
प्रतिक्रिया