क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको अध्यक्ष मोहन वैध प्रवक्ता धर्मेन्द्र वास्तोला

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १६ १९:०२ बजे

 काठमाण्डौ।  नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले एकता अधिवेशन गरी पार्टी एकता प्रक्रिया टुंग्याएका छन् । दुवै पार्टीले एकता गरी नयाँ पार्टी बनाएका छन् । नयाँ पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल’ राखिएको छ । आज दुवै पार्टीको संयुक्त एकता अधिवेशनले नवगठित पार्टीको अध्यक्षमा मोहन वैद्य किरणलाई चयन गरेको छ भने पार्टी प्रवक्तामा धर्मेन्द्र बास्तोलालाई चयन गरेको छ ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानमा सम्पन्न एकता अधिवेशनले २६७ जनाको महाधिवेशन आयोजक समित समेत बनाएको छ । अधिवेशनले १५ सदस्यीय कार्यालय, ८७ सदस्यीय सचिवालय समेत बनाएको छ । अधिवेशनले अन्तर्राष्ट्रिय मजदुर दिवस  १ मे  अर्थात यहि १८ गते सोमबार काठमाडौंमा एक विशेष समारोहको आयोजना गरी पार्टी एकताको घोषणा गर्ने समेत निर्णय गरेको छ ।

गौरवको अध्यक्षता र सुदर्शनको सञ्चालनमा सम्पन्न अधिवेशनमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण र नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला कञ्चनले समसामयिक राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको संक्षिप्त चर्चा गर्दै पार्टी एकताको सम्बन्धमा गरिएको समझदारीका बारेमा मन्तव्य राख्नुभएको थियो ।

एकता अधिवेशनमा कञ्चनले राजनीतिक प्रतिवेदन र राजवीरले विधान प्रस्तुत गर्नुभएको थियो भने संगठनात्मक प्रस्ताव अधिवेशनका अध्यक्ष गौरवले गर्नुभएको थियो । विधान, प्रतिवेदन र संगठनात्मक प्रस्ताव हलले ताली बजाएर पारित गरेको थियो ।

एकता अधिवेशनको अन्तमा प्रितमले समसामयिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने नवगठित पार्टीको अध्यक्षको तर्फबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणले प्रतिवद्धता मन्तव्य राख्नुभएको थियो ।

अन्तर्राष्ट्रिय गीतबाट सुरु भएको एकता अधिवेशन विभिन्न समयसामयिक नाराहरु लगाएर समापन गरिएको कुरा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता परि थापा वताए।


२०८० वैशाख १६ १९:०२ बजे

प्रतिक्रिया