एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज कुवेतसँग भिड्दै नेपाल

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १६ ०७:२८ बजे
एसीसी प्रिमियर कप

काठमाडौँ । जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा आज नेपालले कुवेतसँग खेल्दै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा समूह ‘ए’ को विजेता नेपाल र समूह ‘बी’ को उपविजेता कुवेतबीच प्रतिस्पर्धा  हुन लागेको हो । नेपाल र कुवेतबीचको खेल बिहान ९ बजेदेखि सुरु हुनेछ।

नेपाल समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले पराजित गर्दै समूह ‘ए’ को शीर्ष स्थानमा रही सेमिफाइनलमा पुगेको हो। नेपालले समूह चरणको पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो।

त्यस्तै नेपालले आफ्नो तेस्रो खेलमा साउदी अरेबियासँग वर्षाका कारण प्रभावित भएपछि अङ्क बाँडेको थियो। समूह ‘बी’ मा रहेको कुवेतले हिजै भएको समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले पराजित गर्दै सेमिफाइनल नेपालसँगको भेट पक्का गरेको हो। आज नै हुने अर्को सेमिफाइनल खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ। समूह ‘ए’ को उपविजेता ओमानले समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल र कुवेत तथा ओमान र युएईबीचको विजेता टोलीले फाइनल खेल्नेछन् भने पराजित दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल यही वैशाख १८ गते हुनेछ भने तेस्रो स्थानका लागि यही वैशाख १७ गते खेल हुनेछ।

२०८० वैशाख १६ ०७:२८ बजे

प्रतिक्रिया