एसीसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा कतारसँग खेल्दै नेपाल

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १४ ०८:१३ बजे

काठमाडौँ । जारी  एसीसी प्रिमियर कपअन्तर्गत  समूह ‘ए’ को समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार (आज) कतारसँग प्रतिस्पर्धा  गर्ने भएको छ । खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ। कतार र नेपालबीचको खेलले सेमिफाइनल पुग्ने समूह ‘ए’ को विजेता र उपविजेताको टुंगो लगाउनेछ।

यसअघि नै सेमिफाइनल पुगिसकेको नेपालले आज कतारलाई हराए ७ अंकसहित समूह विजेता बन्नेछ। खेलमा अंक बाँड्नुपर्ने अवस्थामा पनि नेपाल समूह विजेताको हैसियतमा नै फाइनल प्रवेशका लागि खेल्नेछ। तर हारेको अवस्थामा भने नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल खेल्नेछ।

नेपाल र कतारबीच यसअघि सन् २००८ मा युएईमा भएको एसीसी ट्रफी एलिटमा प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो। समूह ए बाट ओमानले ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको छ।

२०८० वैशाख १४ ०८:१३ बजे

प्रतिक्रिया