आज नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको दिन

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ९ ०९:१० बजे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा विश्व सर्वहारा वर्गका महान नेता लेनिनको जन्मदिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्य ‘किरण’ले  वक्तव्य जारी गर्दै भनेका छन- नेपाली कम्युनिस्ट आन्दोलनको प्रमुख खतरा रहेको दक्षिणपन्थी संशोधनवादका विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्न, विभिन्न समूहमा छरिएर रहेका सच्चा क्रान्तिकारी कम्युनिस्टहरु क्रान्तिको पक्षमा एकताबद्ध हुन र नयाँ जनवादी क्रान्तिको प्रक्रियालाई अगाडि बढाउन सम्पूर्ण क्रान्तिकारी नेता, कार्यकर्ता तथा आम जनतालाई हार्दिक आव्हान गरिएको छ ।

वक्तव्यमा नेपाली कम्युनिस्ट आन्दोलनको प्रमुख खतराको रुपमा दक्षिणपन्थी संशोधनवाद रहेको उल्लेख गर्दै भनिएको छ, “आज नेपालको कम्युनिस्ट आन्दोलनले ७३ वर्ष पुरा गरी ७४ वर्षमा प्रवेश गरेको छ । ७३ वर्षको अन्तरालमा यो आन्दोलन विभिन्न समयमा चलेका दुुई–लाइन सङ्घर्षका प्रक्रिया मार्फत् क्रान्तिकारी रुपान्तरण, नयाँ आधारमा नयाँ एकता, संशोधनवादका विरुद्ध विद्रोह र कतिपय अवस्थामा अपरिपक्व फुटका घटनाहरु बेहोर्दै यहाँसम्म आइपुुगेको छ । यस बीचमा कम्युनिस्ट पार्टीको नेतृत्वमा जनआन्दोलन, झापा विद्रोह, जनयुद्ध र विभिन्न प्रकारका जनसङ्घर्षहरु भएका छन् । तत्कालीन नेकपा (माओवादी)को नेतृत्व र जनमुक्ति सेना नेपालको संरक्षणमा नेपाली जनताले जनसत्ताको अभ्यास समेत् गरेका छन् । परन्तु, नेपाल अर्ध–सामन्ती र अर्धरनव–औपनिवेशिक अवस्थाबाट मुक्त भएको छैन । नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद र साम्यवाद तर्फको मार्ग प्रशस्त गर्ने नेपाली जनताको सपना अधुरो रहेको छ । त्यो मात्र होइन, दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवाद र साम्राज्यवाद तथा भारतीय विस्तारवादको शोषण, दमन तथा उत्पीडन झन–झन भयावह बन्दै गएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको प्रमुख खतरा दक्षिणपन्थी संशोधनवाद हो ।”

वक्तव्यमा भनिएको छ, “आज २०८० साल वैशाख ९ गते, तदनुसार २२ अप्रिल २०२३ एउटा ऐतिहासिक महत्वको दिन हो । आजको ठीक ७३ वर्ष पहिला कमरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियोे । आजको दिन विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको जन्मदिवस पनि हो । यसरी आजको दिनले नेपालमा कम्युनिस्ट पार्टीको स्थापनाका दृष्टिले मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनका दृष्टिले पनि विशेष महत्व राख्दछ । यस ऐतिहासिक अवसरमा केन्द्रीय समिति सम्पूर्ण सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र आम पार्टी पङ्क्ति, घाइते तथा बेपत्ता योद्धा, सहिद परिवार, क्रान्तिकारी जनता एवम् अन्तर्राष्ट्रिय भाइचारा पार्टी तथा सङ्गठनहरु र विश्व सर्वहारा वर्गमा हार्दिक बधाइ तथा शुुभकामना व्यक्त गर्दछ ।”


२०८० वैशाख ९ ०९:१० बजे

प्रतिक्रिया