सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई विशेष समितिमा लगिने

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २६ ०८:१४ बजे
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई विशेष समितिमा लगिने भएको छ । ‘फास्ट ट्रयाक’मा सदनबाटै टुंग्याउने सत्तापक्षको जोड र विषयगत समितिमा लैजानुपर्ने प्रतिपक्षी अडानबीच प्रमुख दलका शीर्ष नेताले विशेष समिति गठन गरेर अघि बढ्ने सहमति भएको हो । 

प्रतिनिधिसभामा दफावार छलफलमा रहेको बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमा दलहरूको मत बाँझिएको छ । सभामुखको समन्वयमा भएको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंग्याउन छुट्टै विशेष समिति  बनाउने माओवादी केन्द्र नेपाली कांग्रेस र नेकपा एमाले बिच सहमति भएको हो । 

सदनको सहज सञ्चालन र टिआरसीका विषयमा शनिबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र  एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । एमालेले सदनबाट ‘फास्ट ट्रयाक’मा टुंग्याउन नमानेकाले सत्तापक्ष सर्वोच्च अदालतबाट समेत ध्यानाकर्षण भएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक विशेष समितिमा लगेर छिटो निष्कर्षमा पुर्याउन तयार भएको हो । 

२०७९ चैत्र २६ ०८:१४ बजे

प्रतिक्रिया