सुनको मूल्य तोलामा एक लाख ११ हजार रुपैयाँ पुगेसँगै बन्यो नयाँ रेकर्ड

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २२ ११:५८ बजे
सुनको मूल्य

काठमाडौं ।  विश्व बजारमा लगातार उकालो लागिरहेको पहेलो धातु (सुन) नेपालमा पनि लगातार उकालो लागेको छ । नेपालमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।  बुधबार (आज) एक तोला छापावाल सुनको मूल्य एक लाख ११ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा तोलामा २ हजार रुपैयाँले सुनको मूल्य उकालो लागेको हो । आज सुनको मूल्य उकालो लागेसँगै नयाँ कीर्तिमान कायम भएको हो ।

यसअघि सुनको उच्च मूल्य चैत ५ गते एक लाख १० हजार रुपैयाँ पुगेको थियो । आज तेजाबी सुनको मूल्य एक लाख १० हजार ५ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १४ सय ४० रुपैयाँ पुगेको छ । नेपालमा अरु क्षेत्रमा भन्दा सुनमा लगानी गर्नेको संख्या बढी रहेकाले सुनको मूल्य लगातार उकालो लागी रहेको हो । नेपालमा सुनको मूल्य चाडबाड र तिजको समयमा समान्य मूल्य भन्दा उकालो लाग्दै आएको छ । 

२०७९ चैत्र २२ ११:५८ बजे

प्रतिक्रिया