प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपाललाई

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १८ ०८:५५ बजे
प्रधानमन्त्री कप

काठमाडौं । लाओसलाई २–१ गोलअन्तरले हराउँदै नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल टिम शुक्रबार दशरथ रंगशालामा रक्षात्मक र आक्रामक दुवैमा प्रभावशाली देखियो ।

९ हजार बढी समर्थकका अगाडि घरेलु टिमको पुनरागमन जितले नवनियुक्त प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसलाई पनि राहत मिलेको छ ।  फिफा विन्डोको समय पारेर अखिल नेपाल फुटबल संघ एन्फाले भुटान र लाओसलाई आमन्त्रण गरी त्रिदेशीय फुटबल प्रतियोगिताको आयोजना गरेको हो । विन्डोको समय सकिएका कारण शुक्रबारको फाइनलका कुनै पनि तथ्यांकले आधिकारिक मान्यता पाउँदैन ।

नेपालले यो खेलमा आक्रामक रणनीति लिएको थियो । सुरुमै गोल खाँदा केहि रक्षात्मक बने पनि नेपालले छिट्टै पुनरागमन गर्न सक्यो । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिएका आयुश घलानले फाइनलमा नेपालका लागि बराबरी गोल गरेका थिए ।

भिन्सेन्ट एक महिनाअघि मात्र नेपाल आएका हुन् । १९ फागुनदेखि सुरु भएको शहीद स्मारक ए डिभिजन लिगमा ४ चैतसम्म पाँच चरणका खेल हेरेर उनले आफ्नो टिम निर्माण गरेका थिए ।

यही प्रतियोगिताबाट डेब्यू गरेका दीपकराज सिंह ठकुरी र मणि लामाले तेस्रो खेलमा सुरुवाती टिममा अवसर पाएका थिए । अघिल्ला दुई खेलमा सब्स्टिच्युड रहेका मनिष डाँगीले पनि फाइनलमा सुरुवात गरेका थिए । खेलमा तीन मिनेटको समय बाँकी रहँदा मनिषले शानदार फिनिस गर्दै नेपाललाई उपाधि दिलाए । एरिक विष्ट, आयुश घलानलगायतका युवा खेलाडीबाट प्रशिक्षक एनेस खुसी देखिए । 

नेपालले आउने असार ६ देखि १८ गतेसम्म भारतमा साफ च्याम्पियनसिप खेल्दैछ । सम्भवतः अवको तयारी साफ केन्द्रित हुनेछ । तर, घरेलु फुटबलको सिजन जेठ अन्तिमसम्म चल्नेछ । ए डिभिजन लिगमा अब २१ चरणका खेलहरु बाँकी छन् । २० चैतदेखि छैटौं चरणको खेल सुरु हुँदैछ ।

प्रशिक्षक एनेसले नेपालका ए डिभिजन लिगका प्रशिक्षकहरुको प्रशिक्षण शैलीमा पनि सुधार गर्नुपर्ने आवश्यकता औल्याएका छन् । त्यसबाहेक खेलाडीको प्रशिक्षण, प्रदर्शन र आरामको सन्तुलन मिलाउनुपर्ने उनले बताए । लाओसका जर्मन प्रशिक्षक माइकल वाइसले हारका बाबजुद आफ्नो टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए ।

२०७९ चैत्र १८ ०८:५५ बजे

प्रतिक्रिया