मन्त्रिपरिषद् विस्तारकाे तयारीमा प्रचण्ड

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १६ ०८:४६ बजे
मन्त्रिपरिषद् विस्तार

काठमाडौं ।  प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको लामो समयपछि सत्तारुढ दलहरूबीच मन्त्रालयको भागबन्डाबारे सहमति जुटेको छ । हिजो बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डाको टुङ्गो लगाएका हुन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारको तयारी रहेका छन् ।अब सत्ता साझेदार दलहरूले आफूलाई परेको मन्त्रालयको भागबन्डा अनुसार नामावली प्रधानमन्त्रीलाई बुझाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने भएको छ । 

१० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ मन्त्रालय आफैं चलाइरहेका छन् । जनमत पार्टीका एक र माओवादी केन्द्रका चार मन्त्री मात्रै  अहिले सरकारमा रहेका छन् । आज बिहान फेरि सत्ता साझेदार दलहरूको बैठक बस्ने, सो बैठकमा प्रधानमन्त्री प्रचण्डले कुन मन्त्रालय कसलाई दिने भनेर सुनाउने र आजै साँझ मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको छ । 

संयुक्त बैठकमा नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने समझदारी बनेको बताइएको छ । 

२०७९ चैत्र १६ ०८:४६ बजे

प्रतिक्रिया