राष्ट्रिय जनगणना-२०७८ को तथ्याङ्क सार्वजनिक , काठमाडौंमा मात्रै २० लाख ४१ हजार ५८७ मानिस

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १० ११:१६ बजे
राष्ट्रिय जनगणना-२०७८

काठमाडौं ।  केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना-२०७८ को तथ्याङ्क सार्वजनिक गरेको छ। सन् २०२१ को नोभेम्बर २५ तारिखसम्ममा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ।

एक दशकअघि नेपालको जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशत रहेकामा हाल त्यो ०.९२ प्रतिशतमा झरेको छ।पुरुषहरूको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् कुल जनसङ्ख्याको ४८.९८ प्रतिशत छ भने महिलाहरूको सङ्ख्या ५१.०२ प्रतिशत (एक करोड ४९ लाख ११ हजार ०२७) छ । तथ्याङ्क अनुसार प्रत्येक एक सय महिलाको अनुपातमा पुरुषहरूको सङ्ख्या ९५.५९ छ।

शुक्रवार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार देशका ७७ जिल्लामध्ये  काठमाडौंको जनसङ्ख्या सर्वाधिक २० लाख ४१ हजार ५८७ पुगेको छ।

त्यसपछि धेरै जनसङ्ख्या हुने जिल्लामा क्रमशः मोरङ, रुपन्देही, झापा अनि सुनसरी रहेका छन् ।  सबैभन्दा कम मनाङ जिल्लाको जनसङ्ख्या ५,६५८ छ। कम जनसङ्ख्या हुने जिल्लाको सूचीमा दोस्रो स्थानमा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला रहेका छन् । 

‘‘ काठमाडौंको वार्षिक जनसङ्ख्या वृद्धि दर सर्वाधिक (१.५१ प्रतिशत) छ भने मनाङको सबैभन्दा कम (१.३९ प्रतिशत)  रहेको छ ।जनगणनाका अनुसार सबैभन्दा बढी जनसङ्ख्या (२०(९७ प्रतिशत) बाग्मती प्रदेशको छ भने सबैभन्दा कम कर्णाली (५.७९ प्रतिशतं) रहेको छ । 

२०.९७ प्रतिशत नै जनसङ्ख्या रहेको मधेस प्रदेश दोस्रो स्थानमा छ। त्यसपछि उच्च जनसङ्ख्या हुने स्थानमा क्रमशः कोसी, लुम्बिनी, सुदूरपश्चिम अनि गण्डकी छन्।

त्यस्तै नगरपालिकाहरूमा कुल जनसङ्ख्याको ६६.१७ प्रतिशत मानिसहरू बसोबास गर्छन् भने गाउँपालिकामा बसोबास गर्नेहरूको सङ्ख्या ३३.८३ प्रतिशत रहेको छ । 

क्षेत्रगत रूपमा सबैभन्दा बढी मानिस तराइमा बस्छन्। तथ्याङ्कले पछिल्लो दशकमा तराइमा बसोबास गर्नेको सङ्ख्या झन् बढेको देखाएको छ।  उक्त क्षेत्रमा एक करोड ५६ लाख ३४ हजार ६ मानिसको बसोबास छ जुन कुल जनसङ्ख्याको ५३.६१ प्रतिशत हो। एक दशक अघि उक्त सङ्ख्या ५०.२७ प्रतिशत थियो।

पहाडी जिल्लामा बसोबास गर्नेको सङ्ख्या भने पछिल्लो एक दशकमा ४३.०१ प्रतिशतबाट घटेर ४०.३१ प्रतिशत (एक करोड १७ लाख ५७ हजार ६२४) पुगेको छ।

हिमाली क्षेत्रको जनसङ्ख्या पनि घटेको छ। कुल जनसङ्ख्याको ६.०१ प्रतिशत मानिस बसोबास गर्ने गरेको उक्त क्षेत्रमा हाल १७ लाख ७२ हजार ९४८ मानिसहरूको बसाइ छ जुन ६.०८ प्रतिशत हो।

जनगणनाले १५ देखि ५९ वर्षको उमेर समूहकाहरूको जनसङ्ख्या ६१.९६ प्रतिशत रहेको तथ्य सार्वजनिक गरेको छ। सन् २०११मा उक्त उमेर समूहका मानिसहरूको जनसङ्ख्या ५६.९६ प्रतिशत थियो।

पछिल्लो श्रमशक्ति सर्वेक्षणले १५ देखि ६४ वर्षसम्मका सक्रिय मानिसको भाग झन्डै ६५ प्रतिशत देखाएको अवस्थालाई देखाउँदै ूजनसङ्ख्या घटेको जसरीू आत्तिनु नपर्ने विज्ञहरूको मत पाइन्छ।

जसले गर्दा जनसङ्ख्या वृद्धिदरको तथ्याङ्कबाट तत्काल चिन्तित भइहाल्नुपर्ने अवस्था नआएको प्रा।योगेन्द्रबहादुर गुरुङ ठान्छन्।'यसअघि बढेको जनसङ्ख्या यहीँ छ। यस जनगणनाले त्यो सक्रिय उमेर समूहका मानिसहरू थोरै अझै बढ्नेछन्।'

तर सक्रिय जनशक्ति बढ्ने क्रम भने अब सुस्त हुने भएकाले उक्त उमेर समूहबाट समयमै लाभ लिने सरकारी नीति हुनुपर्ने विश्लेषण सुरु भएको छ।

समाजशास्त्री गणेश गुरुङका अनुसार धेरै सङ्ख्यामा रहेको उक्त सक्रिय उमेर समूहबाट 'समयमै जनसाङ्ख्यिक लाभ नलिईकन विदेश मात्र पठाइरहँदा' आगामी दशकमा त्यसको असर देखिनेछ।'समयमै विकास गर्न सकेनौँ भने अबको दुई-तीन दशकमा वृद्ध मानिस धेरै, युवाशक्ति कम हुनेछन्।'

पछिल्लो जनगणनाका अनुसार १४ वर्ष भन्दा कम उमेर भएकाहरूको सङ्ख्या २७.८३ प्रतिशत छ भने ६० वर्षभन्दा बढी उमेर हुनेहरूको सङ्ख्या १०.२१ प्रतिशत छ।

२०७९ चैत्र १० ११:१६ बजे

प्रतिक्रिया