प्रदेश सरकारको समीकरणमा पनि फेरबदल ?

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ७ १४:४० बजे
प्रदेश सरकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहेको अहिलेको  गठबन्धनलाई प्रदेशमा पनि निरन्तरता दिने बताएका छन् ।  प्रधामन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाबाट ११ दलको विश्वासको मत पाएको भन्दै उनले अब प्रदेश सरकारलाई पनि आलोपालोमा पूर्णता दिने बताएका हुन् । गोरखामा आफ्नो चुनाव क्षेत्रमा पर्ने पन्थडिही– कटहरे–हर्मी– साहिलटार सडक शिलान्यास गर्दै मंगलबार उनले भने, ‘प्रदेश सरकारहरु पुनर्गठन गर्ने कुरामा हामीले सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा सरकारलाई पूर्णता दिने र त्यसबाट पनि जनताको विकास निर्माण र समृद्धिको आकांक्षा सम्बोधन गर्न एकीकृत रुपमा काम अगाडि बढाउने‘।’

प्रमुख दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच संघीय सरकारको नेतृत्व आलोपालो प्रणाली अनुसार गर्ने समझदारी  भएको जनाइएको छ । प्रधानमन्त्रीले प्रदेश सरकारलाई पनि आलोपालो प्रणालीमा पूर्णता दिने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले संघीय सरकारलाई पूर्णता दिन पनि छलफल सुरु भइसकेको बताए । ‘हिजोबाट फेरि राजनीतिक वातावरण, एउटा लय पक्डिएको छ । झण्डै ११ वटा पार्टीको विश्वासको मतसहित अब हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा छौं । आज बिहानबाटै नेपाली कांग्रेस र अन्य पार्टीहरूसँग गम्भीर संवाद छलफल भएको छ सरकारलाई पूर्णता दिने बारेमा’ उनले भने ।

सडक शिलान्यास सामान्य नभई निर्वाचनको बेला जनताको अगाडि गरेको प्रतिवद्धता पूरा गर्ने कुराको उद्घाटन समेत रहेको उनले  बताएका छन् । 

२०७९ चैत्र ७ १४:४० बजे

प्रतिक्रिया