नेपालको लगातार पाँचौ जित

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १५ १९:०४ बजे
आईसीसी क्रिकेट विश्वकप लिग टू

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेल नेपालले ४ विकेटले  जित हात पारेको छ । लिग टुमा नेपालको यो लगातार पाँचौ जित हो । यसअघि घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृखंलामा नेपालले सबै चार खेल जितेको थियो ।

जितपछि नेपालले २९ खेलबाट २८ अंक जोडेको छ । छैटौं स्थानमा रहेको नेपाल पाँचौ स्थानको युएई भन्दा १ अंकले पछि छ । नेपालले अब शृंखलामा दोस्रो खेल बिहीबार युएईसँग हुने भएको छ । 

 आज भएको खेलमा खेलमा ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि दुबईमा २०४ रनको लक्ष्य नेपालले ४५.२ ओभर खेल्दै ६ विकेट गुमाएर २०७ रन बनाउँदै पूरा गर्‍यो । कुशल भुर्तेलले ६९ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५६ रन बनाएका हुन् । 

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ७६ रनको साझेदारी गरे । आसिफ शेखले रनआउट हुनुअघि ३९ बल खेल्दै ५ चौका मद्दतमा ४४ रन बनाए ।

त्यसपछि आएका ज्ञानेन्द्र मल्ल ३ रनमै बोल्ड भए । आरिफ र दीपेन्द्रले पाँचौ विकेटका लागि ५४ रनको साझेदारी गरे । दीपेन्द्रले ४३ बल खेल्दै १ छक्का मद्दतमा २२ रन जोडेर ३९औं ओभरमा आउट भए का थिए । लगत्तै अर्को ओभरमा आरिफ पनि आउट भए । आरिफले ६२ बल खेल्दै १ चौका मद्दतमा ३३ रन बनाए । छक्का प्रहार गर्दै नेपालको जित पक्का गरेका कुशल मल्लले अविजित १२ जोडे । सोमपाल कामी ५ रनमा अविजित रहे ।पीएनजीका लागि कप्तान असद भालाले ३ तथा नर्मन भानुअ र सेसे बाउले १/१ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनाएको थियो ।

२०७९ फागुन १५ १९:०४ बजे

प्रतिक्रिया