'प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा'

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १२ १४:३१ बजे
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा रहेको बताएकी छिन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को ३५ औँ वार्षिकोत्सवको शुक्रबार उद्घाटन गर्दै  उनले  प्रविधिक शिक्षा सरकारको प्राथमिकतामा रहेको बताएकी हुन् ।  

देशलाई सीपयुक्त जनशक्ति आवश्यक रहेको बताउँदै उनले सरकारले बजेटमा पनि प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको बताए ।  सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा पनि प्राविधिक शिक्षा परेको उनले बताएकी छन् । उनले पढाइलाई मात्रै नभइ अनौपचारिक शिक्षाका रुपमा हातमा सीप भएका जनशक्तिलाई पनि शिक्षा ऐनले सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।

अन्य विषय पढ्न नसक्ने मात्रै प्राविधिक शिक्षा पढ्न सीटीईभीटी आउँछन् भन्ने भ्रम रहेकाले त्यो भ्रमलाई चिर्नु आवश्यक रहेको उनले बताइन् । उनले भने ,‘नेपालको शिक्षा महँगो हुँदै गएको छ, त्यसैले सरकारले कमाउँदै पढ्दै भन्ने नीति ल्याएको छ, त्यसलाई व्यवहारमा ल्याउनु पर्‍यो।’

सिटीइभीटीबाट एउटै विद्यालयमा प्राविधिक शिक्षाका १० वटा कार्यक्रम लैजाने प्रतिस्पर्धा चलेको भन्दै उनले त्यसरी धेरै कार्यक्रम एउटै विद्यालयले लैजानुभन्दा थोरै कार्यक्रम लैजाने र गुणात्मक शिक्षा दिनुपर्ने बताइन् ।

उनले सरकारले अहिले शिक्षा ऐन र निजामती ऐनलाई प्राथमिकतामा राखेको जनाउँदै देश सङ्घीयतामा गए पनि शिक्षा ऐन भने पुरानै भएकाले छिट्टै शिक्षा ऐन ल्याउन सरकार लागेको बताइन् ।

नेपालको जनशक्ति धमाधम बाहिरिँदै गएकामा चिन्ता व्यक्त गर्दै उनले नेपालमै बसेर पनि आम्दानी गर्नसक्ने भएकाले शिक्षाका अगुवाले विदेशिनुको कारण खोज्नुपर्ने बताइन् ।

२०७९ फागुन १२ १४:३१ बजे

प्रतिक्रिया