बच्चालाई कति वर्षमा विद्यालय पठाउने ?

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ५ १३:५० बजे
विद्यालय पठाउने उमेर

सबैको मनमा एउटा प्रश्न उब्जिन्छ की बालबालीकालाई कहिले स्कुल पठाउने ? अचेल राम्रो र स्तरीय स्कुलमा भर्ना गरिदिएर राम्रो शिक्षा दिने आकांक्षाले बच्चाको मानसिक विकासमा ध्यान नदिई जन्मेको ११ महिनादेखि नै स्कुलभर्ना गर्ने लहर चलेको छ।

कलिलो उमेरमा स्कुल पठाएका बालबालिकाभन्दा कम्तीमा ६ वर्ष पुगेर किन्डरगार्टेनमा भर्ना भएकाको उपलब्धि दर उनीहरू ७ र ११ वर्षमा पुग्दा उत्कृष्ट भएको अध्ययनले देखाएको छ।

स्ट्यान्डफोर्ड युनिभर्सिटीका थोमस डी र ह्यान्स हेनरिक रिभड्र्सनले ‘डेनिस नेसनल बर्थ कोहार्ट (डिएनबिसी)अन्तर्गत ९०,१४३ नमुनामा गरेको अध्ययनले उपर्युक्त तथ्य पुष्टि गर्दै ढिला स्कुल जान थालेका बच्चा ७ र ११ वर्ष पुग्दा उनीहरूको नतिजा र आत्म–नियन्त्रण क्षमता चाँडै स्कुल जानेका तुलनामा निकै राम्रो भएको देखाएको छ। नेशनल सेन्टर फर एजुकेसन स्टाटिक्टिस–२०१९ ले अमेरिकामा ८६ प्रतिशत बालबालिका ५ वर्ष पुगेपछि मात्र किन्डरगार्टेन भर्ना हुने गरेको रिपोर्ट प्रकाशन गरेको छ।

बच्चा ५ वर्ष पुग्नुअगाडि प्रिप्राइमरी स्कुलमा भर्ना गर्दा सुरूमा राम्रो प्रभाव देखिए पनि दीर्घकालमा सिकाइमा नकारात्मक असर पर्ने गरेको अध्ययनले देखाएका छन्।

नेपालका सन्दर्भमा एसइई परीक्षामा सहभागी हुन १४ वर्ष पूरा भएको हुनुपर्ने भन्ने व्यवस्थाबाहेक अन्यत्र कुनै पनि तहका लागि न्यूनतम उमेरहद तोकिएको छैन। १४ वर्ष पूरा भएपछि मात्र एसइई दिन पाइने भएकाले ५ वर्षमा १ कक्षा भर्ना हुनुपर्ने देखिन्छ। तर प्रिप्राइमरी स्कुलमा कुन उमेरदेखि राख्न सकिने र बालबालिकालाई कसरी, के सिकाउने भन्नेबारे कुनै व्यवस्था भएको देखिँदैन। यही अस्पष्टतालाई आधार बनाएर धेरै प्रिस्कुलले १ कक्षामा आउनुपूर्व प्लेग्रुप, नर्सरी, एलकेजी  युकेजी गरी ४ तह बनाएर१ वर्षकै बच्चामा समेत व्यापार गर्ने गरेका छन्।

यसरी कलिलो अवस्थामा मोटरकोर्डिनेसनन्युरोमस्कुलर डेभलपमेन्ट राम्रोसँग हुन नपाउँदै लेख्न र घोक्न सिकाउँदा बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पर्छ। 

कलिलो उमेरमा बच्चालाई आफुबाट छुटाएर कक्षा कोठामा पुर्‍याउँदा के हुन्छ ? अभिभावकले यसको जवाफ खोजेका छैनन् । बरु उनीहरुले गणना गरेका छन्, जति सानो उमेरमा पढायो, करियरका लागि उत्ति नै समय लम्बाउन सकिनेछ ।

अर्थात सानै उमेरमा विद्यालय शिक्षा पुरा गरेपछि छोराछोरी उच्च शिक्षा हासिल गर्नेछन् । २० वा २२ बर्षको उमेरमा स्नातकरस्नातकोत्तर तह सिध्याएपछि करियर बनाउन सहज हुन्छ । अर्थात २२/२५ वर्षको उमेरमा आफ्ना छोराछोरीले पढाई सिध्याएर कुनै पेशा–व्यवसाय अपनाएको हेर्ने अभिलाषाले पनि अभिभावकलाई हौसाएको छ, सानै उमेरमा बच्चालाई विद्यालय भर्ना गराउने ।

२०७९ फागुन ५ १३:५० बजे

प्रतिक्रिया