आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्याण्ड भिड्दै आज

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ५ ०७:४५ बजे
नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच  भिड्ने भएका छन् । किर्तिपुरस्थित टीयू मैदानमा बिहान ९ बजेबाट खेल सुरु हुन लागेको हो । 

घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिम दोस्रो खेलमा पनि जितको खोजीमा रहेको छ । नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो । 

स्कटल्याण्डले पनि नामिबियालाई सहजै हराएर तीन खेल अगावै लिग २ मा शीर्ष स्थान पक्का गरिसकेको छ । जर्ज मुन्सीको शानदार शतकमा स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको थियो ।

शीर्ष पाँच स्थानमा रहँदै ओडिआई मान्यतालाई जोगाउने अभियानमा रहेको नेपालले घरेलु मैदानमा भइरहेको श्रृंखलामा सकेसम्म धेरै खेल जित्ने लक्ष्यमा रहेको छ । 

यस पटक घरेलु मैदान र दर्शकको साथ पाएको नेपालले श्रृंखलाको पहिलो खेलमै नामिबियालाई हरायो । ओडिआई मान्यता पाएपछि नेपालले नामिबियालाई हराएको पनि यो पटक हो ।

अब स्कटल्याण्ड विरुद्ध नेपालको असली परिक्षा हुनेछ । लिग–२ को अन्तिम श्रृंखला खेलिरहेको स्कटल्याण्डको ३३ खेलबाट ४८ अंक छ । २५ खेलबाट २० अंक जोडेको नेपाल छैटौं स्थानमा छ ।

लिग–२ को शीर्ष स्थानमा रहेर आगामी जुन–जुलाईमा जिम्बावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरमा स्थान पक्का गरिसकेको स्कटल्याण्डका लागि अबका खेलमा कुनै दबाब हुने छैन ।

नेपालले यसअघि स्कटल्याण्ड विरुद्ध खेलेको पहिलो ओडिआई खेल नै जितेको थियो । तर त्यसपछिका लगातार तीन खेलमा नेपालले हार व्यहोरेको थियो।

समग्रमा स्कटल्याण्ड विरुद्ध नेपालले चार ओडिआई खेल्दा एक खेल मात्र जितेको छ भने तीन खेलमा स्कटल्याण्ड विजयी भएको छ । जारी श्रृंखलामा नेपाल स्कटल्याण्डबीचकै दोस्रो खेल शनिबार हुनेछ ।

२०७९ फागुन ५ ०७:४५ बजे

प्रतिक्रिया