जनयुद्धका बाँकी कार्यभार पूरा गर्न पुनः सशस्त्र सङ्घर्ष गर्नुको विकल्प छैन : हिरामणि दुःखीे

bimbonline इश्वरी प्रशाद गैरे
२०७९ फागुन २ १३:२४ बजे
जनयुध्द दिवश

तुल्सीपुर

फागुन–२, महान जनयुद्धको २८औँ वर्षगाँठ दाङको तुलसीपुरमा भव्य रूपमा सम्पन्न भएको छ । तुलसीपुरको अरनीको मैदानको गेटबाट सुरुभएको रयाली बजारको वीरेन्द्रचोक, विपिचोक, ‘ख’ लाईनबाट सुर्खेतरोड हुँदै बसपार्क ओरालोको पीपलबोटमा गएर आमसभामा परिणत भएको थियो । जुलुस सुरु हुनु पहिले सहभागी सबैले एकापसमा महान जनयुद्धको शुभकामना आदानप्रदान गर्दै रातो अविर लगाएका थिए । 

महान जनयुद्ध–जिन्दावद, प्रतिकृयावादी सरकार–मूर्दावाद, एमसीसी लगायतका असमान सन्धीहरू–खारेजगर, बढ्दो महङ्गी–नियन्त्रण गर, जनयुद्धको अभियान–जारी छ, गद्दार र धोकेबाजहरू– खबरदार लगायतका गगनचुम्बी नारा लगाउँदै पञ्चेबाजा सहितको जुलुसले बजार परिक्रमा गरी आमसभामा परिणत भएको हो । 

सभालाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीयसदस्य हिरामणि दुःखीले माओवादीले २०५२ सालमा जनयुद्ध सुरु गर्दा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने र सर्वहारा श्रमजीवी वर्गको हातमा राज्यसत्ता थमाएर वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक उत्पीडन र विभेदको अन्त्य गर्ने लक्ष्य रहेको बताउनु भयो । उहाँले जनयुद्धको त्यो लक्ष्य अझै पनि प्राप्त नभएको र सीमित उपलब्धि प्राप्त भएता पनि सत्ता पुरानै वर्गको हातमा रहेकोले जनयुद्धका बाँकी कार्यभार पूरा गर्न पुनः सशस्त्र सङ्घर्ष गर्नुको विकल्प नभएको बताउनु भयो ।

दुःखीले जनयुद्धको सैद्धान्तिक पक्षको विवेचना गर्दै भन्नुभयो–‘नयाँ जनवादी गणतन्त्र भनेको नेपालबाट सामन्तवादको पूर्ण अन्त्य र साम्राज्यवाद लगायतका सबै खाले बैदेशिक हस्तक्षपबाट देशलाई मुक्त गर्दै राष्ट्रलाई स्वाधीनता दिलाउनु हो । त्यसैगरी देशमा राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको समाधान गर्दै राष्ट्रिय पूँजीको विकास गरेर वैज्ञानिक समाजवादमा पुग्नका लागि जनयुद्धको फौजी योजना लागू गरिएको हो ।’ केस दुःखीले आज देशमा नवउदारवादी अर्थतन्त्र भित्र्याएर देशलाई आर्थिक सङ्कटतर्फ धकेलेको बताउँदै अहिले पनि प्रशासनिक खर्चका लागि नेपालको कूल आम्दानीले नपुगेर वैदेशिक ऋणबाट तलब खुवाउने परिस्थिति बनेको भन्नुभयो । 

यसैगरी उक्त सभालाई पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला ईञ्चार्ज समीर केसीले जनयुद्धका नायकहरूले गद्धारी गरे पनि माओवादीहरू सबै मरेका छैनन् भन्नुहुँदै फेरि पनि क्रान्तिका लागि बन्दुक उठाउन आफु तयार रहेको बताउनु भयो । उहाँले आज फेरि पुराना प्रतिक्रियावादी वर्गले टाउको उठाएको र उत्पीडित वर्गका जनतामा उस्तै प्रकारको शोषण र दमन सुरुभएको छ भन्नुभयो । सभालाई नेकपा बहुमत सम्बद्ध अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष दिपक विष्टले संसदीय व्यवस्थाको विकल्प पुनः संसदीय व्यवस्था नभएको बताउँदै जनयुद्धलाई कसैले समाप्त पार्न खोजे पनि आफुहरूले त्यसलाई अगाडि बढाउने बताउनु भयो । उहाँले आज देशमा गणतन्त्र स्थापना हुनुमा जनयुद्धकै देन भएको बताउनु भयो । त्यसैगरी प्रतिरोध अभियानकी संयोजक अनिता पण्डितले जनयुद्धले नेपाली जनतामा नयाँराजनीतिक जागरण ल्याएको र जनयुद्धका नायकहरूले पुरानै संसदीय व्यवस्था अङ्गाले पनि जनयुद्धको औचित्य समाप्त नभएको बताउनु भयो । 

नेकपा क्रान्तिकारी माओवादीका दाङ जिल्ला सह–ईञ्चार्ज रामजी थारुको अध्यक्षतामा भएको सभालाई नेकपा बहुमतका जिल्ला कार्यालय सचिव अमर खड्काले सञ्चालन गर्नुभएको थियो । त्यसैगरी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मनोज थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । महान् जनयुद्ध दिवश नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमतको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । 


 


२०७९ फागुन २ १३:२४ बजे

प्रतिक्रिया