रक्षामन्त्री हरिप्रसाद उप्रेतीसहितको टोलीले भारततर्फ जाँदै

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २९ १२:४९ बजे
रक्षामन्त्री हरिप्रसाद उप्रेती

काठमाडौं । ‘एरो इण्डिया–२०२३’ मा सहभागी हुन नेपालका रक्षामन्त्री हरिप्रसाद उप्रेतीसहितको टोली आइतबार भारततर्फ  जाने भएको छ । भारतको बैंग्लोरमा हुन लागेको ‘एयर एक्जिविसन’मा नेपालका रक्षामन्त्री हरिप्रसाद उप्रेती सहभागी हुन लागेका हुन् ।  

रक्षा मन्त्रालयका प्रवक्ता सह–सचिव प्रकाश पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहको निमन्त्रणमा उप्रेतीसहितको टोलीले भारत  जान लागेको बताएका छन् । 

बैंग्लौरस्थित सैनिक हवाई अड्डामा ‘एरो इण्डिया २०२३’ आयोजना गरेर भारतले हवाई प्रतिरक्षा क्षमता प्रदर्शन गर्दैछ । सोमबारदेखि पाँच दिनसम्म हुने कार्यक्रममा अन्य मुलुकका हवाई प्रतिरक्षाका अधिकारी, रक्षा मन्त्रालयका कर्मचारी, उड्डयान सामग्री उत्पादन कम्पनी, प्रविधिविज्ञहरु सहभागी हुँदैछन् ।

रक्षामन्त्री आफैं भारत जाने भएपछि जंगीअड्डाले बलाधिकृत रथी सरोजप्रताप राणालाई पठाउने निर्णय गरेको छ । राणा प्रधानसेनापतिपछि दोस्रो वरियताका सैन्य अधिकारी हुन् ।

एसियाको सबैभन्दा ठूलो हवाई प्रदर्शनी भनिँदै आएको यो कार्यक्रम १९९६ बाट हुँदै आएको छ । त्यसयता १३ औं संस्करणसम्म यो कार्यक्रम भइसकेको छ । 

रक्षा मन्त्रालयले मन्त्रीहरुबीच सोही अवसरमा साइड लाइन छलफल पनि हुने जनाएको छ । तर, अन्य कुन कुन देशका रक्षामन्त्रीलाई कार्यक्रममा सहभागी हुन्छन् भन्ने खुलेको छैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रममा ६९९ भारतीय र ११० विदेशी प्रदर्शकहरु उपस्थित हुने भनिएको छ ।

२०७९ माघ २९ १२:४९ बजे

प्रतिक्रिया