राष्ट्रिय महिला हक्की प्रतियोगिता : नेपाल आर्मी र लुम्बिनी प्रदेश फाइनलमा

bimbonline दिवेश कुमार महतो
२०७९ माघ २७ ०६:१० बजे

ढल्केवर ।  महिला राष्ट्रिय हक्की प्रतियोगितामा नेपाल आर्मी र लुम्बिनी प्रदेश फाइनलमा पुगेको छ। धनुषाको मिथिला नगरपालिका वार्ड नं.२ नक्टाझिजस्थित रहेको हिमालय युवा क्लबको खेल मैदानमा जारी पाचौं साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत बिहीबार भएको दुईवटा सेमिफाइनल खेलबाट नेपाल आर्मी र लुम्बिनी प्रदेश फाइनलका लागि छनौट भएको हो।

बिहिबार नेपाल आर्मी र मधेस प्रदेशबीच भएको पहिलो सेमिफाइनल खेलमा मधेसलाई ६-० ले हराउँदै आर्मी फाइनलमा प्रवेश गरेको छ। 

आर्मीका लागि कमला चन्दले ३, सिता चौधरी, सरस्वती तामाङ र निलिमा पाण्डेले समान एक-एक गाले गरिन्। सर्वाधिक गोल गरेका कमला चन्द म्यान अफ दि म्याच घोषित भइन्।

यस्तै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच भएको दोस्रो सेमिफाइनलमा लुम्बिनीले १-० ले सुदूरपश्चिमलाई पराजित गरेको छ। लुम्बिनी प्रदेशका लागि अनन्या बर्नवालले खेलको १२औं मिनेटमा गरेको गोल नै टिमको जितका लागि निर्णायक बन्यो। 

योसँगै शनिबार दिउँसो २ बजेदेखि हुने फाइनल खेलमा विभागीय टोली नेपाल आर्मी र लुम्बिनी प्रदेश भिड्ने भएको छ। 

शुक्रबार भने तृतीय स्थानका लागि बिहान ९:३० बजे देखि मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुने नेपाल हक्की संघका केन्द्रीय सदस्यसमेत रहेका टुर्नामेन्ट डाइरेक्टर अशिम शर्माले जानकारी दिए।

 प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ७५ हजार, ४० हजार र २५ हजार नगद पुरस्कारसहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।

२०७९ माघ २७ ०६:१० बजे

प्रतिक्रिया