चुनाव लड्न ‘पुलिस रिपोर्ट’ चाहिने ?

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २१ ०७:२६ बजे
पुलिस रिपोर्ट

काठमाडौं । निर्वाचन आयोगले अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न नपाउने कानुन ल्याउने तयारी गरेको छ । आयोगले तयार पारेको निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी एकीकृत विधेयकको मस्यौदामा कुनै पनि कसुरमा अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्था छ । आयोगले चालू अधिवेशनमै संसद् पुर्‍याउने गरी विधेयकको तयारी गरिरहेको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अभियुक्त उम्मेदवार बन्ने बाटो बन्द गर्न लागिएको बताए । ‘माननीयहरू निलम्बनमा पर्दा, पदमुक्त हुुँदा आयोग पहिला के हेरेर बसेको भनेर धेरै प्रश्न उठ्यो । हालको निर्वाचन कानुनमै अभियोग लागेका व्यक्तिले उम्मेदवार बन्न पाउने व्यवस्था छ । अब यसलाई सुधार गरेर चुनावै लड्न नपाउने कानुन ल्याउँदै छौँ,’ उनले भने ।

प्रश्नै उठ्न नदिने गरी कानुन ल्याउन लागिएको प्रमुख आयुक्त थपलियाले बताए । उनका अनुसार कुनै उम्मेदवार अभियुक्त हो–होइन भन्ने पत्ता लगाउन ऐनमै ‘पुलिस रिपोर्ट’ अनिवार्य गर्न लागिएको छ । ‘कुनै घटना वा मुद्दामा अभियुक्त हो वा होइन, विगत कस्तो छ भनेर प्रहरीबाट विस्तृत विवरण अनिवार्य ल्याउनुपर्ने व्यवस्था गर्दै छौँ । यो विश्वसनीय र आधिकारिक पनि हुन्छ,’ थपलियाले भने, ‘अन्य अभियोगको हकमा सम्बन्धित निकायको रिपोर्ट आवश्यक पर्ने बनाउँछौँ ।’

अभियोग लागेको मान्छे निर्वाचित हुने र लगत्तै निलम्बन हुने प्रवृत्ति बढेकाले यसलाई कानुनमै सम्बोधन गर्न लागिएको प्रमुख आयुक्त थपलियाले बताए ।

२०७९ माघ २१ ०७:२६ बजे

प्रतिक्रिया