साङ्केतिक भाषालाई शब्दमा रूपान्तरण

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २१ ०६:४३ बजे
साङ्केतिक भाषा

काठमाडौं । बोल्न नसक्ने व्यक्तिहरूलाई लक्षित गरेर नेपाली युवाले साङ्केतिक भाषा तथा हाउभाउलाई आवाज र शब्दमा रूपान्तरण गर्ने ‘युनिभर्सल ह्यान्ड जेस्चर डिकोडर’ उपकरण निर्माण गरेका छन्। बोल्न नसक्ने व्यक्ति र अन्य व्यक्तिहरूबीच देखिने सञ्चार बाधालाई कम गर्ने उद्देश्यले यस्तो उपकरण ल्याएको निर्माण टोलीले जनाएको छ।

थापाथली इन्जिनियरिङ क्याम्पसमा स्नातक तहमा अध्ययनरत दिनानाथ पाध्य, सुदीप ठाकुर, सजेन महर्जन र जेनिसा पन्तको चार सदस्यीय टोलीले यस्तो उपकरण बनाएको हो। “यो उपकरण निर्माण गर्नुको मुख्य उद्देश्य बोल्न नसक्ने मान्छे र अन्य मान्छेबीच सञ्चारमा हुने बाधालाई कम गर्नु हो। यसले साङ्केतिक भाषालाई शब्द र आवाज दुवैमा रूपान्तरण गर्ने भएकाले दृष्टिविहीनलाई समेत उपयोगी हुने देखिएको छ,” पाध्यले भन्नुभयो। उपकरणले साङ्केतिक भाषालाई शब्द र आवाजमा रूपान्तरण गर्ने भएकाले बोल्न नसक्ने, दृष्टिविहीन र अन्य व्यक्तिबीचको सञ्चारलाई सहज बनाउने उहाँले दाबी गर्नुभयो।

यो उपकरण हातमा पन्जा (ग्लोब्स) लगाएजसरी लगाउनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “यो लगाएर साङ्केतिक भाषामा कुराकानी गर्दा सबैले बुझिने गरी आवाज र शब्दमा रूपान्तरण हुन्छ। यस उपकरणमा साङ्केतिक भाषा ‘ट्रान्सलेसन सफ्टवेयर’ रहेको छ, जसको मद्दतले यस्तो कुरा सम्भव भएको हो।” उहाँका अनुसार यो उपकरण हाल नमुना (प्रोटोटाइप) अवस्थामा रहेको र नेपालकै मानक साङ्केतिक भाषा प्रयोग गरिएको छ।

“प्रोटोटाइपका लागि हामीले अहिले आफ्नै डिजाइन बनाएका छौँ। यसमा नेपालकै साङ्केतिक भाषाको मानक (स्ट्यान्डर्ड)अनुसारको डाटा प्रयोग भएको छ। ‘युनिभर्सल ह्यान्ड जेस्चर डिकोडर’ले औँलाको चलाइ र गतिलाई निरीक्षण गरेर आममानिसले बुझ्ने भाषा आवाज वा शब्द (अडियो वा टेक्स्ट) दुवैमा रूपान्तरण गर्छ,” उहाँले भन्नुभयो। यसलाई नेपालीलगायत विश्वका अन्य कुनै पनि भाषामा सहजै रूपान्तरण गर्न सक्ने बनाउन सकिन्छ।

“हामीले अहिले १०/१५ वटा शब्द राखेका छौँ। पछि पूर्ण रूपको उपकरण बनाउँदा हामीले कुनै मानक साङ्केतिक भाषालाई लिएर धेरैभन्दा धेरै शब्द राखेर उपकरणलाई प्रशिक्षण दिन्छौँ। यो उपकरण तीन÷चार चरणभन्दा बढी पटकको परीक्षणमा पास भइसकेको छ। आगामी दिनमा यो उपकरण बोल्न नसक्ने व्यक्तिका लागि उपयोगी बन्ने कुरामा हामी विश्वस्त छौँ,” उहाँले भन्नुभयो। यस्तो उपकरण अन्य देशमा पनि उपयोगमा रहेको तर निकै महँगो रहेको उहाँले बताउनुभयो। यस्ता उपकरणको मूल्य विश्व बजारमा ५०/६० हजार रुपियाँभन्दा बढी पर्ने गरेको तर आफूहरूले तीनरसाढे तीन हजार रुपियाँमा तयार पारेको उहाँले जानकारी दिनुभयो।

उपकरण बनाउनेमध्येका ठाकुरले ‘युनिभर्सल ह्यान्ड जेस्चर डिकोडर’ व्यावसायिक रूपमै उपकरणलाई बजारमा ल्याउने योजना रहेको बताउनुभयो। “हामीले व्यावसायिक रूपमा यो उपकरणलाई बजारमा लैजान थ्रिडी प्रिन्टरबाट प्रिन्ट गर्ने सोच बनाएका छौँ। थ्रिडी प्रिन्टरबाट फाइनल प्रोडक्ट १०÷१२ हजार रुपियाँमा तयार हुनेछ,” उहाँले भन्नुभयो। कलेज प्रोजेक्टका लागि यसअघि पनि दृष्टिविहीनका लागि यस्तै प्रकारको उपकरण तयार पारेको तर त्यसलाई आफूहरूले अगाडि बढाउन नसकेको उहाँले बताउनुभयो। आजको गोरखापत्रबाट    

२०७९ माघ २१ ०६:४३ बजे

प्रतिक्रिया