सांसद चौधरीलाई आज अदालतमा बुझाइने

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २० ०९:४८ बजे
अरुणकुमार चौधरी

काठकाडौं । हिजो पक्राउ  परेका  प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई आज कैलाली जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको छ  । १३ वर्ष अगाडि थरुहट आन्दोलनको क्रममा ट्याक्टर जलाएको घटनामा कसुरदार ठहर भई पक्राउ पर्नु प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई आज कैलाली जिल्ला अदालतमा बुझाउने तयारी रहेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उनलाई आज आदलतमा बुझाउने तयारी रहेको छ । काठमाडौं आउने क्रममा हिजो नेपाल प्रहरीले बाँकेको कोहलपुरबाट  उनलाई पक्राउ गरेको हो । चौधरीलाई नेपालगञ्जबाट जहाजमा  काठमाडौं र काठमाडौंबाट हिजो साँझ जहाजमै धनगढी  लगिएको हो । चौधरीसँग नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् सांसद रञ्जिता श्रेष्ठ चौधरी पनि कैलाली गएका छन् । 

२०६६ सालमा भएको थरुहट आन्दोलनको क्रममा बन्दको अवज्ञा गरिएको भन्दै लु २ त २११ नम्बरको ट्याक्टरमा बन्दकर्ताले आगजनी गरेका थिए । ट्याक्टरमा आगजनी गरिएको भन्दै ट्याक्टर धनी साबिककै बलिया–५ का महादेव बजगाईँले २०६७ भदौ ५ मा चौधरीसहित तीन जनाविरुद्ध किटानी जाहेरी  दिएका थिए  ।  

प्रतिवादीको अनुपस्थितिमा २०७० वैशाख १० गते अदालतले फैसला गरेको थियो । अदालतले साबिकको बलिया गाविस–३ का अरुणकुमार चौधरी, सोही ठाउँका परशुराम चौधरी र कोटातुल्सीपुर गाविस–१ वीरबहादुर चौधरीलाई जनही छ महिना कैद सजायसहित आठ लाख १९ हजार ४२३ रुपियाँ बिगो तिर्नु पर्ने फैसला सुनाएको थियो ।

१० वर्ष अगाडि नै अदालतले फैसला गरे पनि चौधरीसहित कसुरदार तीनै जनालाई पक्राउ नगरी फरार सूचीमा राखिएको थियो ।  मङ्सिरमा सम्पन्न निर्वाचनमा उनी कैलाली–२ बाट नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यमा विजयी  भएका थिए ।  नागरिक उन्मुक्ति पार्टीले ११ वर्ष अगाडि नै सरकार र तत्कालीन आन्दोरत थरुहट सङ्घर्ष समितिबिच भएको सहमति विपरीत मुद्दा चलाइ पक्राउ गरेको जनाएको छ । 

२०७९ माघ २० ०९:४८ बजे

प्रतिक्रिया