प्रधानमन्त्री र राष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना व्यक्त

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ८ ०८:१९ बजे
प्रधानमन्त्री र राष्ट्रपति

काठमाडौं ।  आज तामाङ लगायत हिमाली, पहाडी आदिवासी जनजातिको सोनाम ल्होसार पर्व रहेको छ । आज सकारले यस पर्वको अवसरमा सार्वजनिक बिदा समेत दिएको छ । ल्होसारको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्या देवी भण्डारीले शुभकामना व्यक्त गरेका छन् ।  प्रधानमन्त्री प्रचण्डले नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेका थुप्रै पर्व रहेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्वको अवसरमा एक शुभकामना दिँदै यहाँ बसोबास गर्ने सबै जातजातिको आ–आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको बताए ।

शुभकामना सन्देशमा उनले भनेका छन्, ‘सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीका लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो’। 

नेपाली जनताले नेपालमा सात दशक लामो लोकतन्त्रका लागि आन्दोलन गरेपछि धर्मनिरपेक्ष, समानुपातिक समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको उनको भनाइ छ । ‘यसका लागि तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्याङ्कन र प्रशंसा गर्न चाहन्छु’ उनले भने ।

प्रधानमन्त्री दाहालले ल्होछारको अवसरमा देश–विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगत्को कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

‘नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको सुरुआत गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो’, प्रधानमन्त्रीद्वारा जारी शुभकामनामा भनिएको छ ।

प्रधानमन्त्रीको शुभकामनामा भनिएको छ, ‘ल्होछार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । राज्यले ल्होछारलगायत सबै सांस्कृतिक पर्वलाई राष्ट्रिय संस्कृतिको प्रवर्द्धन गर्नुपर्दछ ।’

यही पद्धति अँगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरु हुन्छ भन्ने मान्दछ

ल्होछार नेपालमा मात्र नभइ चीन, मङ्गोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, ताइवान, मलेसिया, सिङ्गापुरलगायतका मङ्गोल(चिनियाँ सभ्यता पुगेका संसारका सबै महादेश र देशमा मनाइन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन् ।

सोनाम ल्होसारको अवसरका एक शुभकामना सन्देश दिँदै उनले सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

राष्ट्रपतिले यस्ता चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको उल्लेख गरेकी छन् । तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

२०७९ माघ ८ ०८:१९ बजे

प्रतिक्रिया