काठमाडौंबाट ७३१ राहदानीसहित तीन जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ६ ०७:५५ बजे
पक्राउ

काठमाडौं । काठमाडौंबाट ७३१ थान पासपोर्ट सहित तीन जना पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२६, गोङ्गबुमा रहेका दुईवटा होटलबाट ७३१ थान राहदानी (पासपोर्ट)सहित तीन जनालाई प्रक्राउ गरेको हो । 

गोङ्गबुको वीरेन्द्र–ऐश्वर्य मार्गमा रहेको होटल सोना र होटल पल्लीकोटबाट बिहीबार उक्त राहदानीसहित प्रहरीले प्रक्राउ गरी वैदेशिक रोजगार विभागलाई जिम्मा लगाएको हो । 

प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले होटलमा शङ्कास्पद व्यक्ति भएको भन्ने सूचनाका आधारमा गोङ्गबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटाइएको  थियो ।  उनका अनुसार त्यसरी खटेको टोलीले होटल सोनाबाट शङ्कास्पद रूपमा रहेको ७१७ थान र होटल पल्लीकोटबाट १४ थान गरी ७३१ थान राहदानी बरामद गरेको थियो । प्रक्राउ पर्नेमा कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९, म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जना रहेको प्रहरीले जनाएको छ । विभागका महानिर्देशक उमाकान्त आचार्यले ७३१ थान राहदानी र लोकजङ खड्कासहितका तीन जना विभागको नियन्त्रणमा रहेको बताएका छन् । 

उनीहरूको अनुसन्धान बाँकी रहेको ,वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) सञ्चालक हुन् वा तालिम प्रदायक संस्था हुन् वा स्वास्थ्य परीक्षण गर्ने संस्थान हुन्, केही नखुलेको  सबै कुरा  अनुसन्धानपछि मात्रै भन्न सकिने उनले बताएका छन् । 

२०७९ माघ ६ ०७:५५ बजे

प्रतिक्रिया