झापा–२ बाट निर्वाचित एमाले सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ५ १६:०७ बजे
देवराज घिमिरे

काठमाडौं । झापा–२ बाट निर्वाचित  एमाले सांसद  देवराज घिमिरे सभामुख बन्नुभएको छ । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १००  मत आएको हो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी थिए । एक जना सांसद भने तटस्थ रहे ।

घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।

सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दिएकी थिइन् । तर पहिले घिमिरेको उम्मेदवारमाथि मतदान हुँदा उनले बहुमत पाएपछि ईश्वरीको उम्मेदवारमाथि छलफल नै भएन । उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो । 

सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उहाँ झापा २ बाट २८ हजार पाँच सय ९७ मत  ल्याएर निर्वाचित हुनुभएको थियो । 

२०७९ माघ ५ १६:०७ बजे

प्रतिक्रिया