नेपाललाई प्लाष्टिक प्रदुषणमुक्त बनाउन प्रतिबद्ध-वातावरणमन्त्री यादव

नेपाललाई प्लाष्टिक प्रदुषणमुक्त बनाउन प्रतिबद्ध-वातावरणमन्त्री यादव

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २३ १७:५५ बजे
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई प्लाष्टिक प्रदूषण मुक्त बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । दक्षिण एसिया देशहरुमा रहेका नदी तथा समून्द्रलाई प्लाष्टिक प्रदूषण मुक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप)ले आज आयोजना गरेको कार्यक्रममा  बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।
सरोकारवाला, परामर्शदाता तथा निकायहरुको सहभागितामा देश विशेष वृहत कार्यशालामा बोल्दै मन्त्री यादवले नेपाललाई प्लाष्टिकजन्य फोहर र प्रदूषण नियन्त्रण गर्न आफु लागि परेको  बताएका छन् । उनले भने, प्लाष्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्या मध्ये एक हो, यसको समाधान खोज्न हामीले ढिलो गर्नु हुँदैन । , 
साथै उनले आजको कार्यक्रममा मन्त्री नियुक्त भएपछि छोटो समयमै धेरै कामहरुको सुरुवात गरेको दावी समेत गरेका छन् । उनले ४० माइक्रोन भन्दा कम मोटाइको प्लाष्टिकको प्रतिबन्धलाई कडाईका साथ कार्यान्वयन गर्न आफुले निर्देशन दिएको जानकारी गराए । यादवले केही दिन अगाडि मात्रै मन्त्रालयबाट एउटा सूचना जारी गर्दै ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक प्रतिबन्धलाई कडाईका साथ लागू गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थिए ।त्यसैगरी उनले प्लाष्टिकजन्य पूष्पगुच्छा तथा माला आयात, बिक्रीवितरण र भण्डारणमा पनि आफूले मन्त्रीस्तरीय निर्णय गर्दै प्रतिबन्ध लगाएको जानकारी दिए । प्रतिबन्धले प्रदूषण न्यूनिकरण गर्नुका साथै देशमा प्राकृतिक फूल उत्पादन गर्ने कृषकहरुलाई प्रोत्साहन गर्ने र व्यापार घाटासमेत कम गर्ने उनको विश्वास छ । आगामी भदौ १ गतेदेखि प्लाष्टिक प्रदूषण मुक्त बनाउन थप कामहरु पनि हुन गइरहेको उनले जानकारी दिए ।
२०७९ साउन २३ १७:५५ बजे

प्रतिक्रिया