सभामुखका लागि आज मनोनयन दर्ता गर्ने समय

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ४ ०९:४५ बजे
सभामुख

काठमाडौं । प्रतिनिधि सभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदै छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ताको समय रहेको छ । 

मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुन लागेको हो । मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन समेत गरिने भएको छ । 

सभामुखको निर्वाचन भने बिहीबार हुने प्रतिनिधि सभा बैठकमा हुनेछ । प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ । उक्त समय घर्निन लागेपछि प्रतिनिधि सभामा सभामुख चयन गर्ने तयारी गरिएको हो ।

सत्ता गठबन्धनमा सभामुख नेकपा एमालेको भागमा परेको छ ।सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षी दल दाबी गरिरहेको नेपाली कांग्रेस भने सभामुखमा उम्मेदवारी दिने वा नदिने भन्ने निर्णय गरिसकेको छैन् । 

२०७९ माघ ४ ०९:४५ बजे

प्रतिक्रिया