ट्रमा सेन्टर ढल्केवर मै बन्छ, ढुक्क हुनुस् : मेयर महतो

के हो ट्रमा सेन्टरको विवाद

bimbonline दिवेश कुमार महतो
२०७९ पुष ३० ०८:३१ बजे
मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो

धनुषाको । धनुषाको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले ट्रमा सेन्टर ढल्केवर मै बन्ने   भन्दै  नगरवासीहरुलाई ढुक्क रहन आग्रह गरेका छन्।

शुक्रबार मिथिला नगर पत्रकार सञ्जाल ढल्केवर धनुषाको दोस्रो वार्षिक साधारणसभाको अवसरमा नगर प्रमुख महतोले ट्रमा सेन्टरको विषयमा बोल्दै उनले भने, “संघीय सरकारले आर्थिक वर्ष २०७८\०७९ को बजेट मार्फत घोषणा गरेको ५० शैयाको ट्रमा सेन्टर ढल्केवर मै निर्माण हुन्छ ।”

मेयर महतोले ट्रमा सेन्टर निर्माणको लागि नगरपालिकाले आवश्यक सबै किसिमको तयारी गरिरहेको जानकारी दिए । उनले ट्रमा सेन्टरको लागि प्रस्तावित स्थानमा प्राविधिक टोलीले माटो परिक्षण गर्न आउँदा , सम्बन्धित सरोकारवाला व्यक्तिलाई जानकारी नै नदिई गलत रिपोर्ट तयार गरेर सार्वजनिक गरी भ्रम फैलाइएको प्रति खेद प्रकट गरे ।

मेयर महतोले यसमा कतै न कतै बिचौलियाहरुको बदनियतले राम्रो ठाउँलाई गलत रुपमा व्याख्या गरी ट्रमा सेन्टर सार्ने दाउपेच गरेको आरोप लगाए। उनले भने, “उपयुक्त जग्गालाई पनि अनावश्यक बखेडा झिकेर विवादित बनाउन मात्रै खोज्नेको मनसाय कुनै पनि हालतमा सफल हुन दिने छैनौ । हामी यहाँका स्थानीय बासी हौं। हामीलाई थाहा छ कि यहाँ कस्तो जमिन छ भनेर त्यसैले ट्रमा सेन्टर जुनसुकै हालतमा ढल्केवर मै बन्छ ।”

उनले ट्रमा सेन्टर निर्माणको लागि आफूले काठमाडौं मा बसेर मन्त्रालयको सचिव लगायत सरोकारबालाहरु सँग समन्वय तथा पहल गरेको जनाए ।

उनले नगरपालिका सञ्चालन भएको ८ महिना बित्न लाग्दा पनि कुनै काम नगरेको र बढी समय काठमाडौं मै बिताएको भनेर लाग्दै आएको आरोप बारे स्पष्ट गर्दै उनले आफू जनताको सेवक भएको र जनता कै काम गर्न आएको हुँदा काम गर्ने बेलामा सानोतिनो गल्ती हुनु स्वाभाविक रहेको स्वीकार गरे ।

मेयर महतोले आफु ५ वर्षका लागि निर्वाचित भएर मिथिला नगरपालिकाको विकासकै लागि आएको बताउँदै विभिन्न ऐन नियमका कारण केही कार्य तथा योजनाका गतिविधी चलाउन केही ढिला भएपनि अबको दिनमा नगरका कार्यहरु द्रुतगतिमा अगाडी बढ्ने बताए। उनले निर्वाचित भएर आफु आएपछि काम गर्न खोज्दा पनि विभिन्न ऐन र कार्यविधिको अभावमा उल्लेख्य प्रगति हुन नसकेको भन्दै अब नगरपालिकाले विभिन्न कार्यविधि तथा नियमहरुले बनाएर कार्यको सुरुवात गर्न थालेको जानकारी दिए।

मेयर महतोले मिथिला नगरपालिकामा १५ सय्याको अस्पताल बन्छ भनेर आएको टेन्डर फिर्ता भइसकेको अवस्थामा पुनः फर्काएर ल्याएको जानकारी दिंदै प्रस्तावित ठाउँमै ट्रमा सेन्टर बन्ने बताए।

मिथिला नगरपालिका १ स्थित बल्डारामा १५ शय्याको अस्पताल निर्माण तथा स्नातक तहको अध्ययनका लागि क्याम्पस निर्माणका कार्यका लागि आफुले योजना अघि बढाई सकेको उनले जानकरी दिए ।

“यी सब कामहरु काठमाडौं मै बसेर गरेपछि सम्भव भएको हो । हाम्रो समाजमा विकास भनेको नाला , सडक र इनारलाई मात्र मुल्यांकन गर्छन्। हामीले मिथिला नगरपालिकालाई समग्र रुपमा विकास गर्न शिक्षा, स्वास्थ्य, र कृषिमा केन्द्रीत भइ काम आगाडि बढाइ सकेका छौं। त्यसको प्रतिफल नगरवासीले चाडै पाउनुहुनेछ”, मेयर महतोले बताए ।

महतोले तथ्यमा टेकेर नगरको समग्र विकासका लागि कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।यस्तै साधारणसभामा शुभकामना मन्तव्य राख्दै विशिष्ट अतिथि मिथिला नगरपालिकाका उपमेयर सुनिता सिंह बुढाथोकीले फेक आइडी बनाएर समाजिक संजालमा नगरपालिकाको गतिविधीको विषयमा गलत अपवाह न फैलाउन आग्रह गरिन् । समाजिक संजालमा गलत अपवाह फैलाएर केही पनि नहुने भन्दै उनले फेक आइडी बनाएर गलत अपवाह फैलाउनु भन्दा पनि सत्यतथ्य खोजी लेख्नुपर्नेमा जोड दिइन् ।

यता साधारणसभालाई सम्बोधन गर्दै विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष मनिका झाले पत्रकारहरु पत्रकार आचारसंहिताको दायराभित्र रहेर कलम चलाउनु पर्नेमा जोड दिइन् ।

साधारणसभामा मिथिला नगरपालिका ६ का वडाअध्यक्ष नन्दकिशोर यादव, ७ का वडाअध्यक्ष रामबहादुर स्यांगदन, कृषि उपज बजार समिति ढल्केवरका अध्यक्ष बुधेश्वर महतो, मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका महासचिव दिपक लामा, मिथिला ब्याडमिन्टन क्लव ढल्केवरका अध्यक्ष संतोष कुमार महतो, हिमालय युवा क्लवको संरक्षक तथा संजालका सल्लाहकार अरुण कुमार महतो, हिमालय युवा क्लवका सचिव शिवकुमार सिंह, मिथिला नगर युवा संजालका अध्यक्ष राजु महतो लगायतले शुभकामना मन्तव्य राख्नु व्यक्त गरेका थिए ।

साधारणसभामा संजालका उपाध्यक्षमा सरस्वती लामाको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको संचालन फुलगेन महतोले गरेका थिए।

संजालका अध्यक्ष विनोद कुमार महतोको अध्यक्षतामा सम्पन्न साधारणसभामा रेडियो ढल्केवरका संचालक राजेश महतो, स्टेशन म्यानेजर राम उदगार महतो, संजालका सचिव विजय कुमार साह, कोषाध्यक्ष विजय कुमार सिंह, सदस्यहरु प्रेम बहादुर कार्की, सारथी लामा, मिथिला नगर बाल संजालका अध्यक्ष दिवेश कुमार महतो लगायतको उपस्थिति रहेको थियो ।

के हो ट्रमा सेन्टरको विवाद 

हालको मिथिला नगरपालिका-७ साविकको ढल्केवर गाविस वडा नं २‘क’ को कित्ता नं १६९ को चार विघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघीय सरकारले आर्थिक वर्ष २०७८\०७९ को बजेटमा धनुषाको ढल्केवरमा ५० शैयाको ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा रकम विनियोजन गरेको थियो। त्यतिबेला मिथिला नगरपालिकाको कार्यपालिका बैठकले पनि क्रिटिकल केयर तथा ट्रमा सेन्टर सहितको अस्पताल निर्माण कार्यको लागि सम्बन्धीत निकायमा सोही जग्गा सिफारिस गर्ने निणर्य गरेको थियो तर उक्त जग्गामा १५ शैया अस्पताल निर्माण गर्नको लागि नगरपालिकाले टेण्डर आह्वान गरेपछि नयाँ तरङ्ग उत्पन्न भएको थियो। जनताहरू आक्रोशित भएर नगरपालिकाको कार्यालय घेराउ गरेका थिए।

बुधेश्वर महतोको संयोजकत्वमा ट्रमा सेन्टर बचाउ सघर्ष समिति नै गठन गरेर ट्रमा सेन्टर ढल्केवर मै बन्नुपर्छ भनेर अभियान नै चलाएको थियो। त्यसपछि तत्कालीन मेयर हरिनारायण महतोले १५ सैयाको अस्पतालको टेण्डर फिर्ता गरी ट्रमा सेन्टर नै बन्छ भनेर प्रतिबद्धता जनाएका थिए।

अहिले सोही ठाउँमा ट्रमा सेन्टरको प्रस्तावित जग्गामा माटो परीक्षण गरी डिजाइनको काम भइरहेको छ।

२०७९ पुष ३० ०८:३१ बजे

प्रतिक्रिया