सरकारको समर्थन गर्ने र अर्कोतर्फ विपक्षमा रहने कुरा द्वैध चरित्र

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २६ १९:४५ बजे
डा. भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएको विश्वासको मत पछाडि नेपाली कांग्रेसले पनि विश्वासको मत दिएकोमा कटाक्ष गरेका छन् । उनले नेपाली कांग्रेसले एकातर्फ विश्वासको मत दिएर सरकारको समर्थन गर्ने र अर्कोतर्फ विपक्षमा रहने कुरा गरेर द्वैध चरित्र भएकाे अाराेप लगाएका छन् । 

 उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ,"आज २०७९ साल पुष २६ गते प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” लाई नेपाली कांग्रेसले एकातर्फ विश्वासको मत दिएर सरकारको समर्थन गर्ने र अर्कोतर्फ विपक्षमा रहने कुरा गरेर द्वैध चरित्र देखाउदै नेपालको संविधानले परिकल्पना गरेको बहुदलीय प्रतिस्पर्धात्मक पद्धतिको उल्लंघन भएको छ । नेपालको संविधानमा कथित राष्ट्रिय सरकार वा प्रतिपक्ष विहीन संसदको व्यवस्था र परिकल्पना दुबै छैन । अब नेपाली कांग्रेससंग अलिकति पनि राजनीतिक नैतिकता र प्रजातान्त्रिक संस्कार छ भने उसले सत्ता पक्षको स्थानमा बस्नु पर्छ र संविधानको धारा २८४ मा रहेको संवैधानिक परिषद्को सदस्यमा प्रतिनिधि सभामा रहेका प्रधानमन्त्रीलाई मत नदिने वास्तविक प्रतिपक्षका लागि खालि गर्नुपर्छ । अन्यथा नेपाली कांग्रेस नै यस देशको स्थापित पद्धति र राजनीतिक मूल्य नष्ट गर्ने मूल दल भएको नेपाली जनताले  बुझ्ने छन् । विश्वासको मत दिदै सत्ता पक्षीय अनुहार देखाएर अन्य कुनै षडयन्त्रको सपना कांग्रेसले देखेको हो भने त्यो झनै अनिष्टकारी हुनेछ । हुनत प्रतिनिधि सभामा देखिएको खेल आम निर्वाचनमा देखिएको सिद्धान्तहीन गठबन्धन र सरकार निर्माणमा देखिएको पद उन्मुख अवसरवाद कै जारी रुप हो । यस्ता गतिविधिले लोकतान्त्रिक प्रणालीलाई स्वच्छ र बलियो बनाउनबाट रोक्नुका साथै संसारले नेपालमा कस्तो राजनीतिक प्रणाली हो भन्ने प्रश्न गर्ने स्थिति सिर्जना हुन्छ ।

राजनीतिक दर्शन, सिद्धान्त र कार्यक्रमको दृष्टिबाट मुख्य प्रतिस्पर्धी भई विपरीत सिद्धान्त र मान्यता भएका दलहरु चुनाव र सरकारमा प्रतिस्पर्धा त्यागेर एक अर्कालाई समर्थन गर्ने बाटोमा जाने हो भने बहुदलीय प्रतिस्पर्धा भन्नु निरर्थक छ, निर्दलीय व्यवस्थातर्फ गएर सोही अनुसारको व्यवस्था संविधानमा गर्नुपर्यो । बहुदलीय प्रणालीमा राजनीतिक आस्था र कार्यक्रमको आधारमा जनतालाई दल छान्ने अवसर प्राप्त हुन्छ । देशलाई पद्धतिहीन, सिद्धान्तहीन र मूल्यहीन राजनीतितर्फ धकेलेर असफल तुल्याउने कुचेष्टा नहोस् ।"

संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्।

उनी गएको १० पुसमा सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। नेपाली कांग्रेसले प्रधामन्त्री दाहाललाई विश्वासको मत दिन ह्विप नै जारी गरेको थियो । 

२०७९ पुष २६ १९:४५ बजे

प्रतिक्रिया