जनमोर्चा र नेमकिपाले मात्रै दिएनन् प्रचण्डलाई विश्वासको मत

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २६ १९:३० बजे
विश्वासको मत

काठमाडौं । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रधामन्त्री पुष्प कमल दाहाल प्रचण्डले  करीब सबै सांसदहरुको विश्वासको मत पाएका छन् । प्रतिनिधि सभामा रहेका कुल १२ दल र तीन स्वतन्त्र सांसदमध्ये जनमोर्चा र नेमकिपाले मात्र विपक्षमा मतदान गरेका हुन् ।

२६८ सांसदहरुले प्रचण्डलाई विश्वासको मत दिएका हुन् ।  कांग्रेसका ८५, एमालेका ७९, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १३ (एक सभामुखको भूमिकामा रहेकाले मत दिन पाएनन्), जसपाका १२ सांसदले मत दिए । 

यस्तै, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४ तथा तीन स्वतन्त्र सांसदले पनि प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा विश्वासको मत  दिएका हुन् । 

कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बन छन् भने कांग्रेसका तीनजना सांसद अम्बिका बस्नेत, मनोरमा शेरचन र किशोरसिंह राठोर अनुपस्थित रहे। 

संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्।

उनी गएको १० पुसमा सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। 

२०७९ पुष २६ १९:३० बजे

प्रतिक्रिया