यसरी मिल्याे प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबण्डा

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २५ ०७:३६ बजे
मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबण्डा

काठमाडौं ।  सत्ता साझेदार दलहरुले प्रदेशको भागबण्डा मिलाएका छन् । सत्ता साझेदार दलहरुले प्रदेशमा  मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबण्डा मिलाएका  हुन् । सहमतिअनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीमा पूरै कार्यकाल एकल नेतृत्वको सरकार बन्ने छ भने मधेस, बाग्मती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आलोपालो हुने भएको छ । 

प्रदेश १ मा एमालेका हिक्मत कार्की हिजो मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश १ मा माओवादी केन्द्रले सभामुख र एमालेले उपसभामुख लिने सहमति भएको छ । 

मधेस प्रदेशमा जनता समाजवादी पार्टी जसपा र जनमत पार्टीले मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । मुख्यमन्त्रीसँगै उपसभामुख पनि हेरफेर हुनेछ भने सभामुख भने ५ वर्ष नै एमालेले पाउने भएको छ । सुरुमा जसपाले सरकारको नेतृत्व गर्नेछ । 

बाग्मती प्रदेशमा मुख्यमन्त्री र उपसभामुखमा एमाले र माओवादी केन्द्रबीच आलोपालो हुने सहमति भएको छ । पहिलो चरणमा माओवादीले मुख्यमन्त्री र एमालेले उपसभामुख लिनेछ । राप्रपाले पूरै कार्यकाल सभामुख पाउने भएको छ । बाग्मतीमा माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेल आज मुख्यमन्त्री बन्दै छन् । अढाई वर्षपछि एमालेका जगन्नाथ थपलियाको पालो  पाउने छन् । 

गण्डकी प्रदेशमा एमालेले ५ वर्ष मुख्यमन्त्री पाउने भएको छ । यसअनुसार एमालेका खगराज अधिकारी आज मुख्यमन्त्रीमा नियुक्त हुँदै छन् । यहाँ सभामुख माओवादी र उपसभामुख एमालेले लिने सहमति भएको छ । 

लुम्बिनीमा एमालेका लीला गिरी पाँचैँ वर्ष मुख्यमन्त्री  बन्ने भएका छन् । यहाँ माओवादीले सभामुख र राप्रपाले उपसभामुख पाउने भएका छन् । 

कर्णाली प्रदेशमा माओवादीले ५ वर्ष मुख्यमन्त्री चलाउने सहमति भएको छ । यसअनुसार माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री  हुने भएका छन्। एमालेले सभामुख र माओवादी केन्द्रले उपसभामुख पाउने भएको छ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री र सभामुखमा एमाले र माओवादी केन्द्रबीच आलोपालो हुने भएको छ । पहिलो चरणमा एमालेका राजेन्द्रबहादुर रावल मुख्यमन्त्री  बन्ने भएका छन् ।  अढाई वर्षपछि माओवादी केन्द्रका खगराज भट्ट मुख्यमन्त्री बन्ने भएका छन् । नागरिक उन्मुक्ति पार्टीलाई उपसभामुख दिने सहमति भएको छ । 

२०७९ पुष २५ ०७:३६ बजे

प्रतिक्रिया