राजनीतिक व्यक्तित्वका सुरक्षामा खटिएका सुरक्षाकर्मी पनि फिर्ता

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १५ ०८:११ बजे
सुरक्षाकर्मी

काठमाडौं । गृहको निर्देशनपछि कार्यविधिमा तोकिएको भन्दा विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रुपमा खटिएका सुरक्षा अधिकारिहरु फिर्ता हुन थालेका हुन् । 

गृह मन्त्रालयले पुस १२ मा ४८ घण्टाभित्र कार्यविधि मिचेर परिचालन गरिएको सुरक्षाकर्मी फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । बिहिबार साँझसम्म नेपाल प्रहरीका १०३ जना प्रहरी कर्मचारी फिर्ता भएका हुन् । 

सशस्त्र प्रहरी बल प्रधान कार्यालय र बलम्बु स्थित नौ नम्बर बाहिनीबाट खटिएका ८५ जना सुरक्षाकर्मी फिर्ता भएका जनाइएको छ । 

गृहले पूर्व कर्मचारी र पूर्व सुरक्षाकर्मीले सहयोगीको रुपमा राखेका सुरक्षाकर्मी मात्र फिर्ता गर्ने आशयको पत्र दुवै संगठनलाई पठाएको थियो । तर, सुरक्षा निकायले राजनीतिक व्यक्तित्वहरुले लिएको सुरक्षाकर्मी पनि फिर्ता बोलाएका छन् ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यबिधि–२०७७ अनुसार पूर्व गृह मन्त्रीले १० वर्षसम्म २ जना पीएसओ र सशस्त्र प्रहरीको पछुवा गाडी पाउँछन् । पूर्व मन्त्रीले दुई वर्षसम्म १ जना व्यक्तिगत सुरक्षा अधिकृत पाउँछन् । राज्यमन्त्रीले पनि दुई वर्षसम्म पीएसओ पाउने व्यवस्था छ ।

पूर्व सुरक्षाकर्मीहरु मध्येमा एआईजी र डीआईजीहरुले पाउँदै आएको सुरक्षा नयाँ कार्यविधिमा हटाइएको छ । सुरक्षा हटाएकोमा पूर्व एआईजी र डीआईजीहरुले विरोध गर्दै आएका छन् ।पूर्व प्रहरी महानिरीक्षकले ४ वर्षसम्म ५ जना र त्यसपछि आजीवन २ जना सहयोगी पाउने व्यवस्था कार्यविधिमा छ ।

पूर्व कर्मचारी, पूर्व सुरक्षाकर्मी  र विशिष्ट व्यक्तिहरूको सुरक्षामा नेपाल प्रहरीबाट मात्रै ६६१ जना प्रहरी कर्मचारी खटिएका छन् ।

२०७९ पुष १५ ०८:११ बजे

प्रतिक्रिया