समाजवादीका लागि सत्ता भन्दा देश र जनताको सेवा महत्त्वपूर्ण 

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १२ २०:०५ बजे
माधव कुमार नेपाल

काठमाडौं । सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसहरु सहित अन्य सत्तारुढ दलहरूबीच चुनावी तालमेल गरेको माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी अहिले बनेको सरकारमा नगएर प्रतिपक्षमा बसेको छ । उनि सँगै रहेको नेकपा माओवादी केन्द्र भने सरकारको नेतृत्वमा सहित सरकारमा गएको छ । सरकारमा अन्य पार्टीहरु अटाउँदा माधव नेपालको पार्टी भने अटाउन सकेन । पार्टी विभाजन देखी उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दूरी बढाउदै गएका हुन् । 

निर्वाचनको परिणाम कुनै गठबन्धनको पक्षमा नआएपछि सत्तारुढ गठबन्धन टुट्न पुग्यो । सत्तारुढ गठबन्धन टुट्नुको मुल कारण भने पावर शेयर्रिङ रहेको छ । नेपाली कांग्रैसले सरकारको नेतृत्व छोड्न नमाने पछि माओवा केन्द्र एमालेसँग मिल्न पुगेको हो । सत्तारुढ गठबन्धन टुट्दा माओवादी केन्द्र र अन्य साना दलहरु नेकपा एमालेसँग मिलेर सरकार बनाए । आफ्नो पार्टी अहिलेको सरकारमा नजाने बताउँदै एकीकृत समाजवादी का अध्यक्ष माधव कुमार नेपालले राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको  बताएका छन् । 

पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित नेतालाई बधाई तथा शुभकामना दिन आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनका केही नेताको असमझदारीका कारण राजनीतिमा एकाएक परिवर्तन आएको बताए।

राजनीतिमा परिवर्तन आएको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै उनले आफ्नो पार्टीको राष्ट्रिय राजनीतिमा सक्रिय हस्तक्षेपको खाँचो औँल्याए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टी सङ्गठनलाई देशभर विस्तार गरी नयाँ आधार तय गर्न सबै तह तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै जनताको सेवालाई केन्द्रमा राखेर राजनीति गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए।

राजनीतिमा देश र जनताको सेवा महत्त्वपूर्ण हुने हुँदा आत्तिन र मात्तिन नहुने भन्दै उनले यस क्षेत्रमा विश्वास र विश्वसनीयता कायम राखेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे। उनले पार्टीका तर्फबाट जननिर्वाचित भएका नेतालाई जनअपेक्षित काम गरी जनजनमा पुग्न सुझाव दिए ।

२०७९ पुष १२ २०:०५ बजे

प्रतिक्रिया