ओली र प्रचण्ड मिलेर बनेको सरकार देउवा सरकार भन्दा सकरात्मक: नेकपा मशाल

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ११ १९:४७ बजे
फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मशालले अिहले बनेको सरकार विगतमा देउवा नेतृत्वमा रहेको सरका भन्दा  राम्राे  प्रकारको रहेको बताएको छ । नेकपा मशाल आज एक वक्तव्य जारी गर्दै अहिले एमाले र माओवादी केन्द्र मिलेर बनेको सरकार पहिलेको देउवाको नेतृत्वमा रहेको भन्दा सकरात्मक भएको बताएको छ ।  

प्रेस वक्तव्य

संसदीय निर्वाचनको परिणाम आएपछि सरकार गठनका बारेमा दलहरुबीच लामो रस्साकसी पछि पौष १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा गठबन्धन सरकार बनेको छ । त्यसमा एमालेसहित अन्य सातवटा घटकहरुको समर्थन र सहभागिता रहने भएको छ । बाहिरबाट हेर्दा सरकार गठनको यो घटना आकस्मिक नाटकीय वा अप्रत्यासित जस्तो देखिए पनि संसदीय  व्यवस्थाभित्रको यो सामान्य प्रक्रिया हो । त्यसका लागि आन्तरिक तयारी भइरहेको थियो । तैपनि जुन रुपमा नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउन पहल गरेको थियो, त्यो असफल भएको छ र फेरि माओवादी केन्द्र र एमाले नेतृत्वको अर्को गठबन्धन बनेको छ । त्यो तुलनात्मक रुपमा हेर्दा पहिलेको भन्दा सकारात्मक प्रकारको छ । किनकि एउटै विचार भएकाहरुको मेल भएको छ । 

दलाल पुँजीवादी व्यवस्थाभित्रको संकट धेरै पहिलेदेखि थियो र त्यो झन पछि झन तीब्र गतिले गहिरिंदै छ । कांग्रेस नेतृत्वको विजातीय गठबन्धनको असफलताको परिणामबाट यो नयाँ गठबन्धन आएको छ । अहिलेलाई खाली मध्यावधि निर्वाचनको संकट टरेको मात्र हो । तर दलहरुबीच चलिरहने घात प्रतिघातको श्रृंखला अझै पनि समाप्त भएको भन्न सकिन्न । किनकि ठूला भनिने दलहरु देश र जनताको स्वार्थ भन्दा व्यक्ति,, गुट र पार्टीगत स्वार्थलाई हेर्ने गर्दै आएका छन् । त्यसले गर्दा उनीहरु विदेशी शक्ति केन्द्रको आडमा आफ्नो नीति निश्चित गर्ने प्रवृत्तिबाट मुक्त छैनन् ।  त्यसकारण वर्तमान सरकार तुलनात्मक रुपमा केही प्रगतिशील भए पनि पात्रहरुमा पुरानै प्रवृत्ति कायम रहने हुँदा देशमा राष्ट्रघात र जनविरोधी कार्य रोकिन्छ भन्न सकिंदैन । गत संसदले पारित गरेको एमसीसी खारेज गर्न, एसपीपीलाई फिर्ता गर्न राष्ट्रघाती नागरिकता विधेयकलाई फिर्ता गर्न र अतिक्रमित भूमि फिर्ता गर्न पहल गर्छ वा गर्दैन ? विगतमा भएका सम्पूर्ण भ्रष्टाचारका काण्डहरुको उच्चस्तरीय छानवीन र अपराधीलाई कार्वाही गर्नेछ वा गर्ने छैन? दलाल पुँजीवादद्वारा निर्देशित अहिलेको बिग्रँदो अर्थतन्त्रलाई सुधार गर्छ वा गर्दैन रु राष्ट्रिय पुँजीको विकासमा ध्यान दिन्छ वा दिन्न रु महंगी, बेरोजगारी, माफियातन्त्र, हत्या, लुट, बलात्कार जस्ता जघन्य अपराधलाई कम्तीमा न्यूनीकरण गर्छ वा गर्दैन रु जनताको अपेक्षा अनुसार उनीहरु देश र जनताको पक्षमा सही नीति कति लिने छन् रु त्यो हेर्न बाँकी नै छ । 

गठबन्धनमा सामेल घटकहरु र स्वतन्त्र सांसद समेत सरकारमा जानका लागि एकपछि अर्को गरेर तँछाड मछाड गरेका छन् । प्रतिपक्षमा बस्न जनताले जनादेश दिए पनि उनीहरुलाई त्यो स्वीकार्य छैन । सरकारमा जान  हतारो देखिएको छ । सरकारको नेतृत्व गर्ने नीति हुँदा हुँदै पनि नेपाली कांग्रेस ठूलो दल भएर पनि प्रतिपक्षमा बस्न बाध्य भएको छ । एकसिट भएको सांसद पनि सत्ता पक्ष बनेर राज्यबाट फाइदा लिने जुन प्रवृत्ति देखिएको छ, त्यसले जनता माथि ठूलो घात भएको छ । जनताको पक्षमा संसदमा बोल्ने नेताहरुको अभाव देखिएको छ । आम नेपाली जनताको हितको रक्षाको लागि वामपन्थी क्रान्तिकारी शक्तिहरुले सडकबाटै पहल गर्नु पर्ने आवश्यकता बढेको छ ।

अहिले बनेको सरकार तुलनात्मक रुपले प्रगतिशील भए पनि मूलतः पहिलेको गठबन्धन सरकार जस्तै विदेशीहरुको दलालीमा टिक्ने सरकार भएको हुनाले यसप्रति विरोधको नीति प्रधान हुनेछ । तर माथि उल्लेखित राष्ट्र र जनताको हितको पक्षमा कामहरु गरेमा ती कार्यहरुप्रति हाम्रो समर्थन रहनेछ ।  

मितिः २०७९ पौष ११ गते

सन्तबहादुर नेपाली(महासचिव)

२०७९ पुष ११ १९:४७ बजे

प्रतिक्रिया